जनकपुरधाम, माघ २९ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) ले नेपालमा हिन्दु राष्ट्र समाप्त पारेको भारतीय जनता पार्टी (भाजपा) का सांसद निशिकान्त दुबेले आरोप खुलासा गरेका छन् ।
सोमबार लोकसभाको बैठकमा बोल्दै सांसद दुबेले नास्तिक आन्दोलन र देश टुक्राउनेहरु काँग्रेस र विपक्षी दलहरूलाई युएसएडबाट आर्थिक सहयोग प्राप्त गर्नेहरूको विषयमा विषयमा अनुसन्धान गर्दै दोषीहरूमाथि कारबाही गर्न माग गरेका हुन् ।
नेपालको सन्दर्भमा बोल्दै दुबेले भने ‘भारतमा मनमोहन सिंह प्रधानमन्त्री रहँदा युएसएडको सहयोगमा नेपालको हिन्दु राष्ट्र अन्त्य भएको आरोप लगाए । उनले भने, ‘मनमोहन सिंह प्रधानमन्त्री रहँदा नेपालमा हिन्दु राष्ट्र समाप्त भयो ।’
त्यस्तै उनले युएसएडले नेपालको नास्तिक आन्दोलनलाई आर्थिक सहयोग गरेको पनि आरोप लगाए । यद्यपि, उनले यस सम्बन्धमा थप विवरण वा प्रमाण प्रस्तुत गरेनन् । नेपालमा हिन्दु राष्ट्र समाप्त पार्ने बारे युएसएडको संलग्नता सम्बन्धमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।
त्यस्तै उनले युएसएडले भारतलाई विभाजन गर्न पाँच हजार करोड रुपैयाँ लगानी गरेको पनि आरोप लगाए । दुबेले भने, “ युएसएडले जर्ज सोरोसको ओपन सोसाइटी फाउन्डेशनलाई भारतलाई विभाजन गर्नका लागि पाँच हजार करोड रुपैयाँ दियो वा दिएन? साथै, युएसएड र ओपन सोसाइटी फाउन्डेशनले राजीव गान्धी च्यारिटेबल ट्रस्ट, राजीव गान्धी फाउन्डेसन तथा ओभरसिज काँग्रेसका अध्यक्ष सैम पित्रोदालाई रकम दिएको छ वा छैन ?”
दुबेले आफ्नो वक्तव्यमा अन्य गम्भीर आरोपहरू पनि लगाए । उनले भने, “तालिबान, नेपालको नास्तिक आन्दोलन, हेल्पिंग ह्यान्ड, एल–खिदमत जस्ता संस्थाहरूले पनि युएसएडबाट पैसा पाएको दाबी गरे ।” साथै, उनले वक्फ संशोधन ऐनको विरोध गर्ने ‘जकात फाउन्डेसन’ लाई काँग्रेसले समर्थन गरिरहेको आरोप पनि लगाए ।
युएसएडले विश्वभरिका विभिन्न देशहरूमा विकास परियोजनाहरूमा सहयोग गर्दै आएको छ । नेपालमा पनि शिक्षा, स्वास्थ्य, कृषि, र लोकतन्त्र सुदृढीकरण जस्ता क्षेत्रमा युएसएडको सक्रियता रहेको छ । तर, नास्तिक आन्दोलनलाई प्रत्यक्ष रूपमा सहयोग गरेको भन्ने आरोपबारे कुनै आधिकारिक जानकारी उपलब्ध छैन ।
यस विषयमा नेपाल सरकार वा सम्बन्धित संस्थाहरूको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । दुबेको आरोपहरूको सत्यता पुष्टि गर्न थप अनुसन्धान आवश्यक देखिन्छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भए लगतै युएसएड बन्द गर्ने निर्णय गर्दै कर्मचारीहरूलाई फिर्ता बोलाएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !