जनकपुरधाम, माघ २२ गते । नव मिथिला फाउन्डेसनको आयोजनामा छैटौं संस्करणको जनकपुरभधाममा साहित्य महोत्सव बिहीबारदेखि आयाेजना हुन लागेकाे छ ।
‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिमका साथ माघ २४, २५, र २६ गतेसम्म जनकपुरको राम मन्दिर पार्कमा सो महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवमा मिथिलाको साहित्यिक, सांस्कृतिक र सामाजिक चेतनालाई समेटेर विविध सत्रहरू सञ्चालन गर्ने योजना बनाइएको फाउण्डेशन अध्यक्ष अमित साहले
मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् ।
अध्यक्ष साहले महोत्सवमा साहित्य र समाजका विविध पक्षहरूमा गहन छलफल, बहस र समालोचनाका माध्यमबाट समृद्ध ज्ञानको आदानप्रदान गर्ने उद्देश्य राखिएको बताए ।
अध्यक्ष साहले भने, ‘यसपटक पनि अन्य वर्ष जस्तै हामीले साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता महत्वपूर्ण विषयहरूमा सत्रहरू आयोजना गर्ने तयारी गरेका छौं । तीनै दिन सांगीतिक प्रस्तुति र कविताका विशेष सत्रहरू महोत्सवलाई अझ रचनात्मक र उत्साहजनक हुने हाम्रो विश्वास छ ।’
महोत्सवको क्रममा ‘जनकपुरधामका चुनौती र अवसरहरू’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट ः समस्या, समाधान र सम्भावना’, ‘मधेश महिमा ः उत्सवको व्यवसायीकरण’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’, ‘नीतिमा युवाको चासो’, ‘नेपालको परराष्ट्र नीति र सिमाञ्चल’, ‘केन्द्रको दृष्टिमा मधेश’, ‘आन्दोलन र साहित्य’, ‘नेपाली उद्यमीको यात्रा’, ‘आनन्दको खोजी’, ‘समाज, साहित्य सिनेमा’, ‘मधेशको मत’, ‘कुलमान घिसिङको एकल प्रवचन’, ‘संविधान, संघियता र कानुनी राज्यको अभ्यास’ लगायतका १७ वटा शीर्षकमा बहस हुनेछ ।
महोत्सवका अन्तिम दिन शास्त्रीय संगीतकार स्वर्गीय गुरुदेव कामतको परिवारलाई ‘अमित झा साहित्य संगीत पुरस्कार’ प्रदान गरिने पनि उनले बताए ।
महोत्सवको उद्घाटन समारोहमा जनकपुरधामका १० विद्यालयका ६० जना छात्रछात्राले ‘इएह छि हमर जनकपुर’ गीतमा कोरस प्रस्तुत गर्नेछन् । यसैगरी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरूको उपस्थिति महोत्सवमा हुनेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !