जनकपुरधाम, माघ १४ गते । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कार्यान्वयनमा नेपाललाई दबाव दिन अमेरिकी सरकारले नेपालमा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु मार्फत सञ्चालित परियोजनाहरुको अनुदान रोकेका छन् ।
राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसंगै अन्तर्राष्ट्रियस्तरमा नयाँ ढंगले सम्बन्ध बनाउने क्रममा यस्तो निर्णय गरेको भनिएपनि एमसीसी परियोजना कार्यान्वयन गराउन नेपाल सरकारमाथि दबाव दिने उद्देश्यले अनुदान रकम रोक्का गरेको हो ।
अमेरिकी जनताको सहयोगमा विभिन्न अनुदान तथा विभिन्न निकायमार्फत नेपालमा अर्बौ रुपैयाँको लगानीमा अन्तर्राष्ट्रिय गैरसकारी संस्थामार्फत गैरसरकारी संस्थाले अर्बौ रुपैयाँको बजेट कार्यक्रम संचालन गरिरहेको छ । तर अब नेपालमा राष्ट्रपति ट्रम्पले निर्णय गरेसंगै अमेरिकी सहयोगका यूएसएडको सम्पूर्ण कार्यक्रम रोक्न यूएसएडले पत्राचार गरेको छ ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता एजेन्सी यूएसएडले नेपालका सबै साझेदार संघसंस्था तथा कम्पनीहरुलाई हाल चलिरहेका कार्यक्रमहरु रोक्न पत्राचार गरेको जनाइएको छ ।
यूएसएड र नेपाल सरकारबिच डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्टबाट सञ्चालनमा रहेको यूएसएड स्वास्थ्य, यूएसएड कृषि, यूएसएड शिक्षा र यूएसएड समावेशी नीतिसम्बन्धी प्रत्यक्ष वित्तीयकरण परियोजना रोकिन गएको हो ।
ट्रम्प ह्वाइट हाउस फर्केलगत्तै वैदेशिक विकास अनुदान तत्काल स्थगन गर्ने निर्णय भएको र ९० दिनको समीक्षापछि निक्र्योल गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी सहयता नियोगसँग जोडिएका कार्यान्वयन साझेदारहरुलाई अनुदान, ऋण र अन्य सहयोगका सबै कार्यक्रम रोक्न पत्राचार गरिएको कार्यालयले जनाएको छ ।
नेपालमा करिब ४०० वटा गैरसरकारी संघसंस्था र कम्पनीसँग यूएसएड र त्यसअन्तर्गतका एसिया फाउन्डेशन, एचकेआई इन्टरनेशन ललगायतका संस्था र कम्पनीहरुले साझेदारीमा काम गरिरहेका छन् । ती सबै संस्थालाई पनि तत्कालका लागि सबै कार्यक्रम रोक्न इमेल आएको गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
अमेरिकी अनुदानका आधारमा नेपाल सहायता पाउने मुलुकमा १६ औं स्थानमा छ । अर्थ मन्त्रालय र यूएसएआईडीबीच सन् २०२२ मा भएको पाँच वर्षे रणनीति सम्झौतामा ६५ करोड ९० लाख अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान दिने भनिएकाे छ ।
नेपालका हाल अमेरिकी सहयोगमा भइरहेका स्वास्थ्य÷प्रजनन स्वास्थ्य शिक्षा, पूर्वाधार विकास, जलवायु परिवर्तन र लोकतान्त्रिक प्रणाली सुदृढीकरण जस्ता २१ वटा क्षेत्रमा केन्द्रित छ । हाल अमेरिकी सरकारले युएसएआइडीमार्फत सामाजिक, स्वास्थ्य, जलवायु जस्ता कार्यक्रमका लागि हाल ८ करोड डलरभन्दा बढी बराबरको कार्यक्रम सञ्चालन गरिरहेको थियो तर ट्रम्प प्रशासनको सहयोग बन्द गर्ने घोषणासँगै अहिले स्थगित हुने निश्चित भएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !