जनकपुरधाम, माघ १२ गते । शैक्षिक विकासका लागि समय अनुसार परिवर्तनको आवश्यकता रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बताएका छन् । उनले भने अहिले विद्यालयहरुमा परम्परागत आधारमा शिक्षा दिदैं आएको छ । त्यसलाई आधुनिकताको आधारमा परिवर्तन गर्न जरुरी छ ।
प्रधानाध्यापक संघ नेपालद्वारा आयोजित प्रधानाध्यापकहरुसँग मुख्यमन्त्री संवाद ः शिक्षा सुधार र भविष्यको दृष्टिकोण कार्यक्रममा मुख्यमन्त्री सिहले प्रदेशका शिक्षाको स्तर निकै खस्केको चर्चा गर्दै देशका असाक्षर जिल्ला मध्ये ७ वटा असाक्षर जिल्ला मधेश प्रदेशकै रहेको दुखेसो सुनाए ।
आधुनिक शिक्षा कसरी कार्यान्वयनमा ल्याउने र वर्तमान शिक्षा निती तथा शैलीमा कसरी परिवर्तन ल्याएर प्रदेशलाई साक्षर बनाउनेमा बहस गर्न जरुरी रहेकोमा उनले जोड दिए ।

मुख्यमन्त्री सिंहले भने प्रदेशको मातहतमा शिक्षा नभएका कारण समेत शैक्षिक गुणस्तरीयतामा कमी रहेको छ । प्रदेशलाई उच्च शिक्षाको अधिकार दिइएको छ । तर यहाँ त स्थानीय तह मार्फत रहेका ० देखि कक्षा १२ सम्मकै अवस्था कमजोर छ । जबसम्म ती कक्षाको शैक्षिक अवस्थामा सुधार आएन भने उच्च शिक्षाको कुनै अर्थ रहदैन ।
त्यसका लागि हामीले संघमा पटक पटक स्थानीय तह मातहतमा रहेका कक्षा १२ सम्मको शैक्षिक अधिकार दिन माग गर्दै आएका छौं । तर बेवास्ता गरिदै आएको छ । अन्य राष्ट्रमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । तर हाम्रो देशमा शिक्षालाई बेवास्ता गर्दै आएको कारण पनि शैक्षिक अवस्था कमजोर रहेको छ ।
हाम्रो यहाँ विद्यालयमा केही परिवर्तनको आवश्यकता रहेको भन्दै सबभन्दा पहिला त विद्यालय व्यवस्थापन समिति हटाउनुपर्ने आवश्यकतामा जोड दिए । उनले व्यवस्थापन समितिका कारण हुने गरेको राजनीतिले नै गर्दा शैक्षिक गुणस्तरीयता खस्केको ठाडो आरोप लगाए ।

साथै उनले शिक्षक भर्नामा सुधार, शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउनुपर्ने र परम्परागत भन्दा आधुनिक प्राविधिक शिक्षामा जोड दिनुपर्छ । अनि मात्रै शिक्षामा सुधार आउन सक्छ, यसमा हामी सबैले बहस गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री सिंहको भनाईलाई प्रतिवाद गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ मुख्यमन्त्रीलाई पहिला त थाहा हुनुपरयो विद्यालय कसको हो । तपाईहरुले पनि मुख्यमन्त्रीजीको प्रस्तावमा ताली पिट्नु भो, तर विद्यालय प्रदेश सरकारको हो र भन्ने प्रतिप्रश्न गरे ।
कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष सुदाम गौतमले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरीयता सुधारका लागि प्रधानाध्यापकमा नेतृत्व र क्षमता विकास तथा एक अर्काबीच राम्रा कुराको आदान प्रदान हुन जरुरी रहेको बताए ।
यस्तै पानका महासचिव प्रमेन्द्र निधिले देशमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरीयता बढाउन प्रधानाध्यापकहरुको नेतृत्व र क्षमता विकास हुन पहिला जरुरी छ । त्यसैका लागि पानले काम गर्दै आएको छ । आगामी दिनमा मधेश मात्रै होइन देशकै सामुदायिक विद्यालयहरुको शिक्षामा सुधार आउने छ विश्वास व्यक्त गरे ।
पानका मधेश प्रदेश अध्यक्ष संजय कुमार झाले नेपाल सरकारले दिएको श्रोत साधनमा शिक्षाको गुणस्तरीयता कसरी बढाउन सकिने, शिक्षा निती बारे प्रधानाध्यापक बीच मुख्यमन्त्रीसँग संवादका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !