जनकपुरधाम, माघ २ गते । कर्मचारी खटनपटनमा मधेश सरकारका मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीबीचको टसल चरमोत्कर्षमा पुगेको छ ।
जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा आ आफ्ना मान्छे राख्न मुख्यमन्त्री सतिश सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहबीच जुँगा लडाई गत चार दिनदेखि चलिरहेको छ । मुख्यमन्त्री सिंहले संघीय सरकारबाट आएका १० औं तहका कर्मचारी प्रणव यादवलाई राख्न खोजिरहेका छन् भने स्वास्थ्य मन्त्री कोइरीले यसअघि नै निमित रुपमा राखेका ९ औं तहका मृत्युञ्जय प्रसादलाई यथावत राख्न चाहेका छन् ।
सरकार पदाधिकारीबीचको विवादमा दलहरुले नाँगो हस्तक्षेप गरेका छन् । एमाले निकट युवा संघका कार्यकर्ताहरुले हस्तक्षेप गर्दै टायर बालेर विरोध प्रदर्शनसहितका आन्दोलन गरेका छन् । कर्मचारी खटनपटनको सरकारी विवादमा दलीय हस्तक्षेपले राम्रो संकेत देखाएको छैन ।
हुनत उनीहरुले स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने काममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हस्तक्षेप गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मुख्यमन्त्री सतिश सिंहको पुतला दहन गर्दै नाराबाजी गरेका थिए ।
केही महिना अगाडी प्रयोगशालाका तत्कालिन निर्देशक श्रवण मिश्रलाई हटाएर स्वास्थ्यमन्त्री कोइरीले कुमार मृत्युञ्जय प्रसादलाई निमित्त निर्देशकको रुपमा राखेका थिए । सोही पदमा दुई दिन अघि प्रणव यादवलाई मुख्यमन्त्री कार्यालयले जिम्मेवारी तोकेर पठाएपछि विवाद उत्पन्न भएको हो ।
गत पुस २८ गतेको दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत मिथिलेश कुमार महतोले यादवलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै प्रयोगशालाको निमित्त निर्देशकको रुपमा काम गर्न जिम्मेवारी सहित पत्र दिएका थिए । सोही पत्रको आधारमा यादव उक्त प्रयोगशालामा २९ गते हाजिर भए । उनलाई हाजिर हुन कार्यालयमा अर्को रजिष्टर खडा गर्नु प¥यो ।
उनी कार्यालयमा हाजिर भएप्छि निमित्त निर्देशक रहेका डा. मृत्युञ्जय प्रसाद पक्षधर कर्मचारीहरु स्वास्थ्य मन्त्रालय पुगेर मुख्यमन्त्री कार्यालयको पत्रलाई काउण्टर दिने गरी सोही दिन अर्को पत्र स्वास्थ्य मन्त्रालयबाट लेखाएर ल्याए ।
स्वास्थ्य मन्त्रालयबाट पत्र ल्याएका कर्मचारीहरुले प्रयोगशालामा मुख्यमन्त्री कार्यालयको पत्र लिएर गएका यादवलाई कार्यालयबाट हटाउन खोज्दा कर्मचारीबीच दुई पक्षिय विवाद चर्कियो ।
मन्त्रालयका निमित्त प्रदेश सचिव राजेश कुमार मिश्रले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ दिँदै प्रयोगशालालाई लेखेको पत्रमा भनिएको छ, ‘प्रयोगशाला दरबन्दी विवरणमा निज (यादव) को सेवा, समूह र पदको दरबन्दी रिक्त नदेखिएकोले निजलाई अर्को व्यवस्था नभएसम्मका लागि हाजिर नगराई सम्बन्धित कार्यालयमा फिर्ता पठाउन हुन मन्त्रिस्तरीय निर्णय अनुसार अनुरोध छ ।’
लगत्तै मन्त्रालयले प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई समेत पत्र लेखेर मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको भनिएको प्रणव यादवको नाउँमा जनस्वास्थ्य प्रयोगशालाको खाता सञ्चालन गर्न नदिन पत्राचार गरेको छ ।
यता, यादवले भने आफु मुख्यमन्त्री कार्यालयको पुस २८ गतेको पत्रबाट २९ गते प्रयोगशालामा हाजिर भइसकेको व्यहोराको पत्र मुख्यमन्त्री कार्यालयमा पठाएका छन् । यता, प्रयोगशालाका कर्मचारीहरुले भने आर्थिक वर्षको आधा समय अर्थात् ६ महिना बितिसक्दा पत्र संख्या १ उल्लेख गरी यादवले प्रयोगशालाको नामबाट मुख्यमन्त्री कार्यालयलाई लेखेको हाजिर भइसकेको व्यहोराको पत्र नै फर्जी भएको जिकिर गरेका छन् ।
संघीय सरकारबाट प्रदेश सरकारको अधिकार क्षेत्र माग्नुपर्ने बेलामा मन्त्रालयको अधिकार क्षेत्र मुख्यमन्त्री कार्यालयले मिचेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंहले असन्तुष्टी जनाएका छन् । उनीहरुको विवादको कारण बुधबार प्रयोगशाला कार्यालय दिनभर तनावग्रस्त रहयो ।
उता मुख्यमन्त्री कार्यालयले संघबाट सरुवा भएर आएका प्रणवलाई सम्बन्धित क्षेत्रमा खटाउन जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो । निर्देशकका लागि १० औं तहको कर्मचारी हुन जरुरी छ । योग्यता अनुसारको कर्मचारी नहुँदा तत्कालका लागि निमित रुपमा ९ औं तहका मृत्युञ्जयलाई जिम्मेवारी दिइयो । अब सो तहका कर्मचारी आइसकेपछि निमित किन राख्ने भनेर प्रणवलाई त्यहाँ पठाइएको हो ।
श्रोतका अनुसार पैसा लिएर पदस्थापन र सरुवा बढूवा गर्ने सरकार तथा कर्मचारीबीचको परम्पराले विवाद उत्पन्न भएको हो । श्रवणलाई हटाएर मृत्युञ्जयलाई प्रमुख बनाउन र मृत्युञ्जयलाई प्रणवलाई प्रमुख बनाउन रकम चलखेल भएको भन्ने कुरा आ आफ्ना पक्षका कर्मचारी राख्ने विवादले प्रष्ट पार्छ । यसमा उनीहरुलाई उनका दल शक्ति प्रदर्शन गर्दै संरक्षणमा लागेको भन्ने आरोप स्थानीयको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !