जनकपुरधाम, असोज १३ गते । मधेश प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले वर्षाले क्षतिग्रस्त भएका नदी तटबन्धको तत्काल मरम्मत सम्भार गर्न आग्रह गरेका छन् ।
लगातार तिन दिनसम्म भएको अबिरल वर्षाले नदी तटबन्ध क्षेत्रमा गरिएको कटान अवस्था बुझ्न नदी तटबन्ध निरिक्षण कार्यलाई तिव्रता दिएका छन् । आइतवार रौतहटस्थित बागमती र लालबकैया नदीको क्षतिग्रस्त तटबन्धनको प्राविधिक टोलीसहित निरिक्षण गरेका छन् ।
जिल्लाको माधवनारायण नगरपालिकाको वडा नम्बर ८, ९ र दुर्गाभवती गाउँपालिकाको वडा नम्बर १, २ मा पर्ने बागमती र लालबकैया नदीको क्षतिग्रस्त तटबन्धको निरिक्षण गरेका हुन् । निरिक्षण टोलीमा संघीय सरकारको प्रतिनिधिको रुपमा रहेका सम्बन्धित निकाय बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख एकबाल अहमद सिद्दकीलाई क्षतिग्रस्त तटबन्धको तत्काल मरम्मत सम्भार अघि बढाउन निर्देशन दिए ।
मन्त्री यादवले भने ‘यो तटबन्ध प्रदेश सरकार मातहतको भए अविलम्ब नै मरम्मत सम्भार कार्य अघि बढाइने थियो । तर भारतीय सहयोगमा संघीय सरकार निर्माण भएको कारण प्रदेश सरकारको क्षेत्राधिकारभन्दा बाहिर रहेको कारण संघीय सरकार मातहतका निकायलाई तत्काल मरम्मत सम्भारका लागि संघीय सरकारसँग पहल गर्न भनेको छु ।’
निरिक्षण टोलीमा सहभागी प्राविधिक टीमबाट सहभागी मन्त्रालयका उर्जा तथा जलश्रोत महाशाखाका डि.ई बरुण कर्णका अनुसार माधव नगरपालिकाको पिपरा गाउँ नजिक करीब दूई सय मीटर र दुर्गा भगवती गाउँपालिकामा करीब डेढ सय मीटर तटबन्ध कटान गरिएको छ भने दर्जनौ घर डूबानमा परेको छ । नदीमा अत्यधिक जलस्तरवृद्धिले तटबन्धसहित छड्की र स्पर समेत कटान गरिएको छ ।

मन्त्री यादवले क्षतिग्रस्त तटबन्ध सहित डूबान क्षेत्रको समेत निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा उनले तत्काल मरम्मत सम्भार गराई दिर्घकालिन समस्या समाधानका लागि भारत सरकारसँग पुनः निर्माण कार्य गर्न आग्रह गर्ने प्रतिबद्धता जनाए । डूबानमा परेकाहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारबाट पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
सो निरिक्षण टोलीमा प्रदेश सरकार अर्थमन्त्री सुनिल यादव, कांग्रेस प्रदेश सभापति एवं प्रदेश सांसद कृष्ण यादव, महाशाका कर्णसँगै अर्का डि.ई. सुमन झा, माधवनारायण नगरपालिकाका मेयर वैद्यनाथ प्रसाद यादव, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंह, वडाध्यक्षहरु र स्थानीय कांग्रेस नेता कार्यकर्ता सहित स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
अविरल वर्षापछि वाग्मती र लालबकैया नदीमा आएको बाढीले माधवनारायण, मौलापुर, कटहरिया, राजदेबी, दुर्गाभगवती गाउँपालिका क्षेत्रको बाँध कटान गरेको छ । वाग्मतीको बाढीले दुर्गाभगवती गाउँपालिका–२ स्थित सुलिस गेट नजिकको गाडईड बाँध र लालबकैयामा आएको बाढीले कटहरिया नगरपालिका–४ हर्साहा र मौलापुर–१ मर्यादपुर गाँउ छेउमा नदी नियन्त्रणका लागि लगाइएको बाँध कटान भएको छ । राजदेवी नगरपालीकाको ब्रम्हपुरी क्षेत्रमा समेत बाँधमा कटान भएको छ ।

यसअघि शनिवार मन्त्री यादवले सप्तरीको सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदीमा कटान गरिएको तटबन्धको निरिक्षण गरेका थिए । बाढीबाट क्षतिग्रस्त भएका तटबन्ध क्षेत्रको निरिक्षण कार्यलाई तिव्रता दिएका छन् ।
मन्त्री यादवले भने क्षतिग्रस्त तटबन्धको विवरण संकलन गर्न निरिक्षण कार्यलाई दिएका छौं । प्रदेश सरकारबाट हुन सक्ने कार्यलाई अविलम्ब अघि बढाउनेछु र संघीय सरकार वा अन्य निकायबाट भएका हुने कार्यका लागि पहल गर्नेछु ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !