जनकपुरधाम, असोज १२ गते । सवारी साधनबाट हुने गरेको दुर्घटना न्यूनीकरण गर्न धनुषा प्रहरीले ट्राफिक सचेतना अभियानलाई तिव्रता दिएका छन् ।
‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूलका साथ नगरस्तरीय ट्राफिक सचेतना अभियान संचालन गरेको हो । धनुषा ट्राफिकले अब जरिवाना काट्नुभन्दा पनि दुर्घटना न्यूनीकरण सहित ट्राफिक नियम उल्लंघन रोक्न सचेतना कार्यक्रममा दिएका छन् ।
जिल्ला ट्राफिक धनुषाले शनिवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको महेन्द्रनगर, ढल्केवर देखि लालगढसम्म ‘छिटो गए भन्न सकिन्न, विस्तारै गए पुग्न सकिन्छ’ नाराको ब्यानर सहित सवारी साधनलाई रोकेर चालकहरुलाई यात्रुहरु र आफ्नो ज्यानको ख्याल गर्दै ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन भनी सचेत गराएका छन् ।

जिल्ला ट्राफिक प्रमुख हरि ओलीले भने आपतविपतको समय छ, वर्षाले गर्दा सडक चिप्लो भएका कारण दुघर्टना हुन सक्ने सम्भावना रहेकाले सचेत भएर सवारी साधन चलाउन सवारी चालकहरुलाई जानकारी गराइएको बताए । साथै उनले ट्राफिक नियम विपरित कुनै सवारी चालकले तिव्र गतिमा सवारी चलाएमा वा दुर्घटनाको सम्भावना भए जिल्ला ट्राफिक धनुषामा जानकारी गराउन अनुरोध गरेका छन् ।
मोटरसाइकल चालकहरुलाई दुई जनाभन्दा बढी र बिना हेलमेटको सवारी नगर्ने, जथाभावी ओभरटेक नगर्ने, लापसे वा मापसे गरेर सवारी साधन नचलाउने, क्षमताभन्दा बढी सवारी नबोक्ने, गाडीमा सिट बेल्टको प्रयोग गर्ने, सवारी चलाउंदा मोबाइलमा कुरा नगर्ने, लामो दूरीको यात्रामा दुईजना चालकले पालैपालो गरी सवारी चलाउने लगायतका ट्राफिक नियम बारे समेत सवारी चालकहरुलाई जानकारी गराएको छ ।

नगरस्तरीय ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत पर्चा पम्पलेट वितरण गर्ने कार्यक्रम समेत भइरहेको छ भने राजमार्ग सहित अन्य सडकहरुमा ट्राफिक सचेतनाका होर्डिंग बोर्डहरु झुण्डयाउने कार्य समेत गरिने ट्राफिक प्रमुख ओलीले जानकारी दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !