जनकपुरधाम, जेठ ५ गते । एक महिनापनि नबित्दै धनुषामा फेरी एक पत्रकारको सवारी दुर्घटनामा मृत्यु भएको छ । गत वैशाख ११ गते पत्रकार विनय यादवको घटना सेलाउन नपाउंदै शनिवार बिहान धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ बिसरभोरा स्थायी घर भएका पत्रकार पत्रकार शिवेन्द्र रोहिता (यादव) को कारको ठक्करले मृत्यु भएको हो ।
घटनाको प्रकृति हेर्दा पिडीत परिवारजन र पत्रकारहरुको विभिन्न संघ संगठनहरुले दुर्घटना होइन कारले किचेर हत्या गरेको आरोप लगाएका छन् । शनिवार एकाविहानै करिब ३ः०० बजेको समयमा जनकपुरधामको थापाचोकस्थित डेरा जाँदै गर्दा उनको मोटरसाइकललाई कारले ठक्कर दिएको बताईएको छ । कारले ठक्कर दिएपछि घाईते भएका पत्रकार रोहितालाई सोही कारले ब्याक गरेर पुन किचेर मारेको उनीसँगै मोटरसाइकलमा सवार रहेका उनका साथीले प्रतिक्रिया दिएका छन् ।

नेवि संघका जयनाथ यादवसँगै मोटरसाइकलमा डेरा फर्किदै गर्दा मधेश भवनतर्फबाट तीव्र गतिमा आएको कारले पत्रकार रोहिताको मोटरसाईकललाई ठक्कर दिएको बताईएको छ । प्रदेश प्रहरी कार्यालयबाट पूर्वतर्फ मोटरसाईकल क्रस गर्न खोज्दा थापाचोकस्थित रहेको टावर लाईटस्थित नै उनको मोटरसाइकमा कारले ठक्कार दिएको थियो । कारले उडाएपछि पनि समान्य बोलचाल गरेका पत्रकार रोहितालाई कारले पुनः ब्याक गरेर किचिदिएको उनीसँगै अर्को मोटरसाइकल पछिपछि आइरहेका अर्का प्रत्यक्षदर्शी साथी रुपेश गोहिबारले बताए ।
सो दुर्घटनामा उनीसंगै रहेका जयनाथको खुट्टाको हड्डी बाहिर निस्केको छ भने हातको हड्डी समेत भाँचिएको छ । उनको उपचार प्रादेशिक अस्पतालमा भईरहेको छ । घटनाको बेला रुपेशले कारबालासँग साँचो खोसेर सोही कारमा अस्पताल लगेको बताईएको छ । यसैबीच कारमा सवारी चालक सहित चारैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम पश्चात स्वर्गद्वारमा शनिवार अन्त्येष्टि गरिएको छ । पत्रकार रोहिता मातापिताका एक्लो छोरा थियो । उनको परिवारमा आमा, धर्मपत्नी, जेठो ५ वर्ष तथा कान्छो छोरा ६ महिनाको रहेको छ ।
घटनालाई नियमित दुर्घटना भनिएपनि उनलाई जानीबुझी किचिएर मारिएको र घटनाको प्रकति हेर्दा शंकास्पद रहेको आरोप लगाइएको छ । नेपाल पत्रकार महासंघ धनुषा, मधेशी पत्रकार समाज धनुषा र आम सञ्चार प्राद्यिकरण मधेश प्रदेशले एक विज्ञप्ति जारी घटना शंकास्पद रहेको भनी सत्य तथ्य छानबीन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
पत्रकारमाथि एकपछि अर्को घटनाहरु दोहोरिनुले धनुषाको पत्रकारहरुमाथि सुरक्षा चुनौती बढ्दै गएको ठहर गर्दै अब उप्रान्त यस्ता घटनाहरु दोहोरिन नदिन पत्रकारहरुको सुरक्षाप्रति गम्भीर भई दुबै घटनाको विषयमा गहन अनुसन्धान गरी दोषीमाथि यथाशिघ्र कडा कारवाहीको माग पत्रकार आबद्ध संघ संगठनहरुले गरेका छन् ।
ज्ञातव्य छ, गत बैशाख ११ गते बिहान करिब ३ः४७ बजेको समयमा न्यूज ब्यूरोका पत्रकार (कार्यकारी सम्पादक) विनय कुमार यादवलाई योजना तहत मारेर दुर्घटनाको नाम दिइएको थियो । अहिले विनयको मुद्दामा आरोपितहरु फरार छन भने एक जना नियन्त्रणमा रहेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दुर्घटनाको दिन विनयले चलाइरहेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको बताएका थिए । तर दबावपछि अहिले दुर्घटना मोडिएर घटनामा परिणत भएको छ । मोटरसाइकल पछाडि बस्ने मृतकका छिमेक ३० वर्षीय ललन भन्ने लक्ष्मी नारायण यादवलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अघि बढाएको हो । प्राप्त प्रमाणको आधारमा दुर्घटना नभई विनयको हत्या गरिएको भन्ने देखिन्छ । ती बेला लक्ष्मीनारायण पछाडि बसेको भनिएको थियो तर फेला परेको सिसीटिभी फुटेजमा लक्ष्मीनारायणले मोटरसाइकल चलाइरहेको देखिएको र अहिले बयान पनि उनले फेरेर स्वीकार गरेका छन् ।
डिएसपी अवाका अनुसार सुरुमा लक्ष्मीनारायणले आफू पछाडि बसेको भन्दै आएपनि पछिल्लो समय बयान फेरेका छन् । ‘सुरुमा त लक्ष्मीनारायणले आफू पछाडि बसेको बयान दिएका थिए । अहिले उनले बयान फेरेर आफू मोटरसाइकल चलाइरहेको बयान दिइरहेका छन्’ डिएसपी अवाले भने । यद्यपी डिएसपी अवाले मृतक यादवको पोस्टमार्टम रिपोर्ट र घटनास्थलको प्रकृतिले अहिलेसम्म मोटरसाइकल दुर्घटनाकै कारण मृत्यु भएको तर्क गर्दै आएका छन् ।
मृतक विनयले केहीदिन अघि एकजनलो आफूसहित केही साथीलाई मारिदिने धम्की दिएकोविरुद्ध निवेदन इलाका प्रहरी कार्यालय धनुषाधाममा दिएका थिए । उनले धम्की दिनेलाई कारबाहीको साथै शान्ति सुरक्षाको माग समेत गर्दै चैत २८ गते निवेदन दिएको खुलेको छ ।
निवेदनमा विनयले आफूसहित अहिले प्रहरी हिरासतमा रहेका लक्ष्मीनारायण, रामपुकार यादव र विशेश्वर मण्डललाई स्थानीय २७ वर्षीय विरेन्द्र कुमार यादवले गालीबेज्जती गर्दै जिपले ठक्कर हानेर मारिदिने धम्की दिएकाले उनलाई कारबाहीको माग गरिएको निवेदनमा गरिएको थियो ।
मृतक विनयका भाई शंकर यादवले त्यस बेला इलाका प्रहरी कार्यालय धनुषाधामले निवेदन दर्ता गरेन । प्रहरी निरीक्षक किरण लामाले विनयले निवेदन दिएको स्वीकारे । ‘विनयजीले निवेदन दिनु भएको थियो । दोश्रो पक्षबाट निवेदन परेपछि दुवै निवेदन दर्ता भएन । पछि विनयजीले आफै त्यो निवेदनमा केही नगर्नुपर्ने, कुरा मिलिसक्यो भन्नुभयो’ प्रहरी निरीक्षक लामाले भने ।
दुर्घटना स्थलमा आफू बेहोस भएको लक्ष्मीनारायणले प्रहरी र मृतक आफन्त समक्ष बयान दिएका थिए । तर, उनै लक्ष्मीनारायणले ज्यान मार्ने धम्की दिएका भनिएका दोश्रो पक्ष विरेन्द्र यादवका भाई धिरेन्द्र यादवलाई दुर्घटनास्थलबाटै तीनपटक फोन प्रयास गरेको खुलेको छ । ४ बजेर १७ मिनेटमा लक्ष्मीनारायणले धिरेन्द्रलाई तीनपटक फोन गरेको लक्ष्मीनारायणको मोबाइलमा कल हिस्ट्री भेटिएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !