जनकपुरधाम, वैशाख २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन (फुट) काे प्रत्यक्ष असर मधेश प्रदेश सरकारमा परेकाे छ ।
जसपा फुटेपछि मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर जनमत पार्टी र नवगठित अशाेक राई नेतृत्वकाे जसपाकाे सहयाेगमा नयाँ सरकार गठनको तयारी शुरू भएकाे छ।
सरकारबाट बाहिरिने विषयमा माओवादी संसदीय दलका नेता साह र एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवबीच मधेस भवनमा छलफल भइरहेको छ।

´केन्द्रीय नेतृत्वबाट फोन आएपछि इमर्जेन्सी मिटिङ गर्नुपर्ने छ भनेर उहाँले छिटै कार्यक्रमबाट फर्किनुभयो। सरकारको नेतृत्व, स्वरूप लगायतका विषयमा दुई नेताबीच अहिले छलफल जारी छ। केही बेरमा निर्णय आउन सक्छ,’ एमालेका एक मन्त्रीले भने, ‘तत्कालका लागि सरकारबाट बाहिरिएर एमालेको नेतृत्वमै सरकार बन्ने अनौपचारिक सूचना आएको छ। जसपाबाट फुटेर बनेको नयाँ पार्टी,जनमत र लोसपा पनि नयाँ गठन हुने सरकारमा सहभागी हुन्छ।’
ठूलो पार्टीको हैसियतमा एमालेले सरकारको नेतृत्वकाे दाबी गरेकाे छ भने माओवालीले भाैतिक र अर्थमन्त्रालयमा दाबी गरेकाे बुझिएकाे छ ।
माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले भने, ‘जसपा नेपाल विभाजन भएपछि यो सरकार अल्पमतमा परेको हो, जसपा केन्द्रमा पनि कमजोर भएको छ, त्यहाँ पनि रहने कि नरहने ठेगान छैन, मधेस प्रदेशमा पनि पार्टी नै विभाजन भएपछि पार्टी कमजोर भएको छ त्यो हिसाबले अब जसपाको सरकारलाई समर्थन दिने कि नदिने विषयमा छलफलमा जुटेका छौं ।’
यसअघि माओवादीले भने मुख्यमन्त्रीमा नै दाबी गरेको थियो । तर केन्द्रीय गठबन्धनको निर्णयअनुसार सुरुमा जसपालाई नै नेतृत्व गर्न दिने भनिएपछि कुरा अगाडि बढेको थियो । प्रदेश सरकारको नेतृत्व गरेको जसपा नेपाल नै विभाजन भएपछि नैतिकतामा आधारमा सरकारको नेतृत्व गर्न नमिल्ने र छाड्नुपर्ने माओवादी केन्द्रका नेताहरूको दाबी छ ।
मुख्यमन्त्री यादवलाई आफ्नाे पद जाेगाउन नवगठित जसपाले आफ्नै पार्टीमाआउन दवाब दिइरहेकाे बुझिएकाे छ । हुनत मुख्यमन्त्री यादवनिकटहरूले यस्ताे कुनै पनि प्रस्ताव कतैबाट नआएको र मुख्यमन्त्रीले कुनै पनि हालतमा पार्टी नछाड्ने बताउंदै आएका छन् ।
मुख्यमन्त्री यादव जसपामा नजाने पक्कापक्की भएपछि मात्र एमाले र माओवादी सरकारबाट बाहिरिँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेछन् । समर्थन फिर्ता लिए लगत्तै एमालेले मधेस सरकारको नेतृत्व गर्ने तयारी गरेको श्रोतको दावी छ ।
१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा जसपा नेपाल नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एससहितकाे ६१ सांसदकाे रहेको समर्थन छ । माओवादी र एमाले सरकारबाट बाहिरिएमा यो संख्या घटेर २८जना पुग्न जान्छ ।
अल्पमतमा परेपछि स्वतः सरकार ढल्नेछ । सरकार निर्माणका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ । वर्तमान सरकारमा एमाले २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ सांसदको समर्थन छ । एमाले नेतृत्वमा नयाँ गठन हुने सरकारको अंकगणित अनुसार एमालेको २४, माओवादीको ९, जनमतको १३ र नवगठित जसपाको ९ जनासहित ५५ सांसद हुन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !