जनकपुरधाम, फागुन ८ गते । जनकपुरधाममा फागुन १० गतेदेखि जनकपुर साहित्य महोत्सवको ५ औँ संस्करण शुरु हुन भएको छ ।
नव मिथिला फाउण्डेसनकाे आयाेजनामा राममन्दिरको प्रांगणमा फागुन १० देखि फागुन १२ गतेसम्म चल्ने साहित्य महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीति लगायतको विषयमा छलफल हुने छ ।
आयोजकले मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी विभिन्न विषयमा १४ वटा समूह छलफल र ४ जना व्यक्तिकाे संघर्ष बारे प्रवचन समेटिएको जनाएको छ ।
‘चाहियो रंगशाला’, किताब उपर समीक्षा, कसरी हुन्छ निर्णय ?, नव उद्यमी र उद्यमशीलता, स्वस्थ मधेश, सम्पदा, संस्कार र साहित्य, शिक्षाको नयाँ आवश्यकता र परिभाषा, मधेशको श्रम यात्रा, बोल्ने स्वतन्त्रता, ‘साँस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शीर्षकमा विमर्श हुने आयोजक नवमिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए ।
उनका अनुसार तीनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सांगीतिक कार्यक्रम हुने छ । महोत्सव अन्तर्गत यसपटक वतृत्वकला, कविता र शिल्पकला प्रतियोगिता पनि हुने फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले बताए ।
महोत्सवमा किताबको लोकार्पण, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
अनुमानित ४० लाख खर्च हुने साे महाेत्सवबाट के र कस्ताे यहांकाे साहित्यमा वा यहांकाे विकासमा उपलब्धी हाेला भन्ने जिज्ञासा पत्रकारहरूले राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !