जनकपुरधाम, १० माघ । नेकपा एमालेले मधेश प्रदेश सरकार नालायक रहेको ठहर गरेको छ । सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यासको क्रममा भएको घटनाको विषयलाई लिएर एमाले मधेश प्रदेश कमिटीले प्रदेश नालायक रहेको भन्ने कुरा एक विज्ञप्ति जारी गरी ठहर गरेको छ ।
एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले विज्ञप्ति जारी गरेर सप्तरी कृषि विश्वविद्यालयको शिलान्यासको सत्य, तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न नेकपा एमणले मधेस प्रदेशले माग समेत गरेको छ । उनले सो घटनामा घाइतेहरूको उपचारका लागि पनि सम्बन्धित पक्षसँग माग पनि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘उपकुलपतिले कुलपतिको हैसियतमा मुख्यमन्त्रीलाई विश्वविद्यालय भवनको शिलान्यास गर्ने लिखित पत्राचार गरेको तर त्यसलाई लत्याएर संघीय सांसद (उपेन्द्र यादव) बाट शिलान्यास गराउनु प्रदेश सरकारको नालायकीपन हो ।’
सहकुलपति रहेका शिक्षा मन्त्रीले कार्यक्रम रोक्न लिखित निर्देशन गर्नु, मुख्यमन्त्रीकै उपस्थितिमा सहकुलपतिको बिरोधका बावजुद संघिय सांसदबाट विश्वविद्यालयको शिलान्यास गराउनु मुख्यमन्त्रीको असक्षमता भएको एमालेको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘शिलान्यासको विरोध गर्दा शिक्षा तथा संस्कृतिमन्त्री र सत्ता पक्षका प्रदेश सांसदहरू नै प्रहरीबाट कुटिनुले लोकतन्त्रको उपहास भएको छ।’
सरकार गठबन्धनको आडमा जनता जनतामा भिडाउने, देशमा अराजकता मच्चाएर आफ्नो स्वार्थ सिद्ध गर्न लागेको घटनाहरूबाट पुष्टि भएको एमालेले जनाएको छ । सरकारको आफ्नै भूमिकाले अब सरकारमा बस्ने नैतिकता समाप्त भएको एमालेको ठहर छ । सप्तरी क्षेत्र २ मा पर्ने राजविराज नगरपालिका–१३ स्थित विश्वविद्यालय भवनको शिलान्यास संघीय सांसदमा पराजित जसपा अध्यक्ष उपेन्द्र यादवबाट गराउन लागेको भन्दै जनमत पार्टीले विरोध गर्दा प्रहरीले बल प्रयोग गरेको थियो ।
जसमा हिजोमात्र राजीनामा दिएका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र जनमतका नेताहरू घाइते भएका थिए । विश्वविद्यालय प्रदेश सरकार मातहत छ । कृषि विश्वविद्यालय मधेस प्रदेश सरकारको मातहतमा हुने र त्यसको कुलपति मुख्यमन्त्री र सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री हुने व्यवस्था रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !