जनकपुरधाम, ५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग बढेको बताएका छन् ।
पार्टीको मधेस प्रदेश समितिको प्रथम सम्मेलनलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई अन्तर्घातको रोगबाट जोगाएर बहुमत पार्टीका रुपमा स्थापित गर्न आग्रह गरे ।
उनले भने, ‘अहिलेको बेला समानुपातिक समावेशी प्रणालीमा कसैको पनि बहुमत आउने सम्भावना छैन, पार्टीभित्र अन्र्तघात पनि उतिकै छ । यसका बावजूत हाम्रो पार्टी सबै भन्दा ठूलो पार्टी बन्न भएको छ । भोलिको दिनमा पनि हाम्रो पार्टीलाई अन्तर्घात भन्ने रोग रहने नै छ । त्यसबाट जोगाएर बहुमत पार्टीको रुपमा स्थापित गर्न नेता कार्यकर्तासँग आग्रह गरे । मधेस प्रदेशबाट भविष्यमा मुलुक सुदृढीकरण, राजनीतिसँगै कांग्रेसलाई बलियो बनाउने काममा मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
त्यस्तै पार्टीका महामन्त्री गगन थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले भने,‘केही महिनामै कांग्रेसको प्रधानमन्त्री पनि बन्छ । सिंगो देशको जिम्मा सिंगो देशको जिम्मा हामीले लिन्छौं ।’
यस्तै उपसभापति धनराज गुरुङले मधेसलाई माथि उठाउनुपर्नेमा जोड दिनुभयो । मिसन चौरासी होइन मिसन सुशासन बनाउन आवश्यक रहेको बताउंदै उहाँले सरकारले सुशासनको अभियान चलाइसकेको भने । कानून मन्त्री समेत रहेका गुरुङ्गले थप्दै भन्नु भयो अब सरकारले भ्रष्टाचारका फाइल खोल्दै गएको छ । सबै कुरामा विरोध गरेर हुँदैन, संघीयता बचाउन सहयोग गर्न आवश्यक छ ।
सम्मेलनमा सहभागी महासचिव गगन थापाले प्रदेशलाई प्रहरी र कर्मचारी सहितको अधिकार दिनुपर्नेमा जोड दिदै समानुपातिक समावेशी व्यवस्था सहितको निर्वाचन प्रणाली सच्याएर अघि बढेमा मात्रै देशले विकास लिने र संघीयता बाच्न सक्ने बताए । मधेश प्रदेशका अध्यक्ष कृष्ण यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टी प्रवक्ता एवं अर्थमन्त्री रामशरण महत, नेताहरु आनन्द प्रसाद ढुँगाना, मिनाक्षी झा, प्रदेशका स्वास्थ्यमन्त्री विरेन्द्र सिंह लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेको थियो ।
निधीले गरे मञ्च बहिष्कार
यसैबीच नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद समेत देखिएको छ । आसनग्रहणको क्रममा मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरेर मञ्चमा नबसी दर्शक दिर्घामा नै बसेका थिए । उदघोषकले पटक पटक आग्रह गर्दा पनि पार्टी पूर्व उपसभापति समेत रहेका नेता विमलेन्द्र निधि मञ्चमा गएनन् ।
यसअघि निधि पक्षधरले विज्ञप्ति जारी गरेर विरोध समेत जनाएका थिए । दुई दिनसम्म चल्ने सम्मेलनमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिएका छन् । उद्घाटन सत्रमा आठै जिल्लाबाट अगुवा नेता र कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !