जनकपुरधाम, २८ मंसिर । सर्लाहीको हरिपूर्वामा अज्ञात व्यक्तिले गाेली फायर गर्दै सहकारीका कर्मचारीको साथमा भएको पाँच लाख रुपियाँ लुटेर फरार भएका छन् ।
हरिपूर्वा नगरपालिका–६, हनुमान चोकस्थित महाजनको पोखरी नजिक बिहीवार बिहान ११ः३० बजेतिर लुटपाट भएको हो । हरिपूर्वा बजारमा रहेको एनआईसी एशिया बैङ्कको शाखाबाट पाँच लाख रुपियाँ निकालेर जयगङ्गा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बसन्तपुरतर्फ लिएर आउँदै गर्दा हतियारधारी समुहले उक्त रकम लुटेर लगेका हुन् ।
वसन्तपुर सेवा केन्द्रका प्रमुख रामनाथ राय र कर्मचारी निरा राय ना १५ प ९८९२ नम्वरको मोटरसाइकल पैसा लिएर हरिपूर्वाबाट वसन्तपुरतर्फ जांदै गर्दा अज्ञात व्यक्तिले हतियार देखाएर लुटपाट गरेका सहकारीका अध्यक्ष गणेश यादवले जानकारी दिए ।
तत्कालै वरिपरीका मानिसले दौडिएर नियन्त्रणमा लिन खोज्दा दुई जना हतियारधारी व्यक्ति पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्दै फरार भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
मुखमा कालो मास्क लगाएर हिँडेका लुटेरा सवार अपाचे मोटरसाइकलको नम्वर प्लेटमा माटोले पोतिएको थियो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्नहरुको खोजी तीव्र पारिएको बताए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटाइएको र सीमा नाकाहरुमा कडाईका साथ चेकजाँच भइरहेको डीएसपी थारुले बताएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !