जनकपुरधाम, २५ मंसिर । विवाह पञ्चमी महोत्सवको लागि जनकपुरधाममा तीन दिन मदिरा तथा माछा÷मासुको बिक्री वितरणमा रोक लगाइएको छ ।
मंगलबारदेखि सुरु हुन लागेको विवाहपञ्चमी महोत्सव सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउने सन्दर्भमा सोमबार बसेको सरोकारबालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको बैठकले मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा÷मासुको बिक्री वितरणमा रोक लगाएको हो ।
यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । सूचनाको विपरित निषेधित क्षेत्रमा उक्त कार्य गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।
प्रत्येक वर्ष झै यसवर्षपनि एक हप्तासम्म मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइदै छ । महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिनेछ । त्यस्तै मंसिर २७ गते फूलवारी लिला, मंसिर २८ गते धनुष यज्ञ, मंसिर २९ गते तिलकोत्सव, मंसिर ३० गते मटकोर, पुस १ गते स्वयम्बर तथा विवाह र पुस २ गते रामकलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !