जनकपुरधाम, कात्तिक १९ गते । नेकपा एमालेबाट फुटेर एक नयाँ पार्टी गठन भएको छ । एमालेका पुर्व केन्द्रिय सदस्य प्रमोद यादवको अध्यक्षतामा नेपाल मधेश कम्युनिष्ट पार्टी भन्ने नयाँ पार्टीै गठन भएको हो । ५१ सदस्यीय सो पार्टी रहेको छ । एमालेबाट फुटेर नयाँ पार्टी घोषणा भएको जानकारी आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष यादव सहितका पदाधिकारीहरुले दिएका छन् ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा डा. लक्ष्मी ओली, उपाध्यक्षद्वयमा मातृका यादव र रामशरण यादव रहेका छन् भने पार्टीको महासचिवहरुमा दिबाकर शर्मा, शंखु जैसी र शंकर यादवलाई चयन गरिएको छ । यस्तै सचिवहरुमा गौतम ढुँगेल, कल्पना यादव र काजल खातुन रहेकी छिन् ।
अध्यक्ष यादवले हरेक पार्टीबाट नयाँ जनवादी पक्षधरहरु, माक्र्सवाद लेनिनवाद विचारधारा भएकाहरु सबैलाई गोलबन्ध गरेर लोकतान्त्रिक गणतन्त्रलाई हामीले उपयोग गर्ने र कमी कमजोरीको भण्डाफोर सहित नयाँ जनवादीको पक्षमा माहौल तयार गर्ने उद्देश्यले यो पार्टी गठन गरिएको जानकारी दिए । अध्यक्ष यादवले यतिको सानो देशमा ७/७ वटा प्रदेश आर्थिक रुपले धान्न सक्ने अवस्था नरहेकाले देशमा मधेश, पहाड र हिमाल गरी मात्र ३ वटा प्रदेश तथा सांसद संख्या समेत हालको संख्याभन्दा आधा राख्नुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको समेत बताए ।
पत्रकार सम्मेलनमा उपस्थित वरिष्ठ उपाधयक्ष डा. ओलीले कांग्रेस र एमाले लगायतका दलहरु मधेशीलाई शासक बाहिरका मान्छे सोचेर शोषण र दमन गर्ने उद्देश्यले राज्यका हरेक निकायबाट बाहिर राख्दै आएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताए । वरिष्ठ उपाध्यक्ष डा. ओलीले ब्राहम्णवादी पहाडिया सोचले शोषण दमन सहितका शासन गर्ने सोचले मधेशमा पढेलेखेका विद्वान व्यक्तिहरु भएपनि यहाँ पहाड र हिमालबाट ल्याएर सिडिओ, एसपी र न्यायधिश बनाउने गरेको छ । तर अब आफूहरुले त्यस्तो हुन नदिई मधेशमा मधेशीले शासन गर्न पाओस भन्ने नयाँ जनवादी सोचका साथ संघर्ष गर्ने भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !