जनकपुरधाम, कात्तिक १५ गते । लेड (सिसा) को विषबाट बचावटका लागि अन्तराष्ट्रिय सचेतना सप्ताह (ILLPW) अवार्डबाट पांचजना मध्ये जनकपुरधामस्थित डेली एक्सप्रेसका समाचारदाता सुभाष कर्ण पुरस्कृत भएको छ ।
नेपालमा ILLPW 2023 को दौरान जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) द्वारा आयोजित समाचार लेख प्रतियोगितामा कर्ण पुरस्कृत एवं सम्मानित भएका छन् । सो प्रतियोगितामा कर्णले तेश्रो स्थान प्राप्त गरेका हुन् ।
प्रतियोगितामा चितवनबाट प्रकाशित चितवन पोष्टका किशोर खनाल प्रथम, बुटवलबाट प्रकाशित लुम्बिनी दैनिकका चुडामणि पोखरेल दोश्रो स्थान प्राप्त गरेका हुन भने नागरिक पत्रिकाबाट विरगंजकी माधुरी महतो र आर्थिक अभियानबाट काठमाडौका नवराज अधिकारी सान्त्वना पुरस्कार पाएका हुन ।
कर्णले डेली एक्सप्रेस पत्रिकामा पेन्ट्समा प्रयोग गरिएको लेडबाट बालबालिकामा हुने असर सम्बन्धी सचेतनामूलक आलेख लेखेका थिए । सो आलेखमा पेन्ट्समा प्रयोग हुने विषाक्तको प्रयोग नियन्त्रण गर्न नेपाल सरकारले ९० पिपिएम भन्दा बढी प्रयोग गर्न नपाउने तोकेको मापदण्ड कार्यान्वयनमा सम्बन्धित निकायले जोड दिनुपर्ने मुख्य कुरा उठाइएको थियो ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रद्वारा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा आयोजित ११ औँ अन्तर्राष्ट्रिय नेतृत्व विषाक्तता रोकथाम सप्ताह २०२३ को अवसरमा काठमाडौ स्थित अल्फा हाउसमा एक आयोजना गरी पुरस्कृतहरुलाई पुरस्कार सहित सम्मान गरेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्र रमण सिंहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा डब्लूएसओको प्रतिनिधि राजाराम पिटे श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका उपसचिव रामकिशोर यादव, वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रले लेडको विषाक्तले बालबालिकाको हार्मोन र बोनमा पार्ने असर सहित यसको रोकथामका लागि सरकारले ध्यान पुरयाउनु पर्ने आवश्यकता रहेको कुरामा जोड दिएको थियो । अतिरिक्त सचिव सिंहले पत्रकारहरुलाई मानव स्वास्थ्यको बारेमा सचेतनामुलक समाचारहरु सम्प्रेषण गर्न आग्रह गरेका थिए । उनले भने राजनीतिक इस्यूमा धेरै समाचारहरु प्रकाशन हुन्छ, तर मानवको स्वास्थ्य बारे कलम अझै कम चलिरहेको छ । पत्रकारहरुले पुरस्कारका लागि मात्रै नभई यस्ता स्वास्थ्य सचेतना सम्बन्धी न्यूजहरुमा निरन्तरता दिनुपर्छ ।
केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ डेन्टल सर्जन डा. प्रकाश बुढाथोकी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !