जनकपुरधाम, असोज २९ गते । दशैँको अवसरमा प्रत्येक वर्ष झैँ यसपालि पनि आइतवारदेखि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सस्ता बजार लागेको छ । जनकपुरधामको राम चोक स्थित गोपाल धर्मशालामा सस्तो बजार एक सातासम्मका लागि सुरु भएको हो । सस्तो बजारको उद्घाटन मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले गरेका छन् ।
सस्ता बजारमा कुल १ सय १५ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उनले घरेलु उत्पादनका खाद्यान्नलगायतका सामग्रीहरुलाई प्राथमिकता दिई विक्रि वितरण गर्ने योजना रहेको बताए । बजारमा खाद्यान्न, दैनिक उपभोग्यका सामाग्रीहरु, साबुन, सर्फ, अगरबत्ति, प्लाष्टिकका भाडाकुडाहरु, लत्ता कपडाहरु, जुत्ता चप्पल लगायत विभिन्न उपभोग्य सामाग्रीहरु व्यापार व्यसायका लागि राखिएको छ ।

प्रत्येक वर्ष सस्ता बजार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी र सदस्य सचिव जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि सदस्यको रुपमा रहने गरेका थिए । तर यसवर्षदेखि समितिको संयोजक जनकपुरधाम उपमहानगरपालिका आफै रहेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले संघीय सरकारले बिना कुनै तयारीको हचुवाको भरमा ल्याएको मिटरब्याजी सम्बन्धी ऐनको आतंकतले आर्थिक मन्दी भएको आरोप लगाएका छन् ।
सो ऐनले समाजमा पारेको नाकारात्मक असरले साहु महाजन स साना उद्योगी व्यवसायीलाई र गाउँघरमा विवाह, व्रतबन्ध, पढाई र उपचारमा ऋण दिन नदिंदा ती रकम उनीहरुको घरमै थन्किंदा बजार चलयमान नभई आर्थिक मन्दीको अवस्था आएको बताउंदै मन्त्री यादवले भने संघीय सरकारको संयन्त्र जिल्ला प्रशासन कार्यालयले समन्वय र सहजताको नाममा मोटो रकमको बार्गेनिङ्ग गर्दै आतंक नै मचाएको छ ।

मन्त्री यादवले आर्थिक मन्दीको क्रममा भइरहेको व्यवसायी तथा व्यापारीलाई प्रोत्साहनका लागि योजनाहरु ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले ठुलठुला कलकारखाना तथा उद्योगहरु खोल्नका लागि समेत मधेश प्रदेश सरकारले योजना ल्याएको बताउँदै छिट्टै नै मधेश प्रदेशमा कार्ययोजनासहित अघि बढ्ने भने ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बजार अनुगमनलाई तिव्रता जनकपुरधाम उपमहानगरपालिकालाई आग्रह गर्दै सस्तो दरमा उपभोक्तालाई सामान उपलब्ध गराउन भने । प्रजिअ त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले बजार अनुगमनका लागि समिति बनाउने तयारीमा उपमहानगरपालिका कार्यालय रहेको जानकारी गराउंदै चाँडै अनुगमन थालिने बताए ।
कार्यक्रमका अध्यक्षता गरेका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले कृषि बजारका लागि सहयोग गर्न मन्त्री यादवसँग आग्रह गर्दै बजार चलयमान गर्न प्रदेशका निर्माण व्यवसायीहरुको बक्यौता रहेको रकम तत्काल उपलब्ध गराउन माग गरे । उनले घरेलु उत्पादनका खाद्यान्नलगायतका सामग्रीहरुलाई प्राथमिकता दिई विक्रि वितरण गर्ने योजना रहेको समेत बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !