जनकपुरधाम, असोज १३ गते । २५ वर्षदेखि एउटै मोटरसाइकल चढ्दै आएका धनुषाको लक्ष्मिनिया गाउँपालिका ४सपही निवासी समाजसेवी रामहित चौधरी सम्मानित भएको छ ।
शनिवार सपही समाजले ‘मेरो साथी मेरो बाइक’ मूल नाराका साथ सिल्बर जुबिली कार्यक्रम आयोजना गरी समाजसेवी चौधरीलाई सम्मान गरेका हुन । २५ वर्ष पुरा गरेको अवसरमा सपही समाजले २५ औं वार्षिकोत्सवको रुपमा केक काटेर सिल्बर जुबिली मनाएका हुन ।
बजाज कम्पनीको एम ८० मोडेलको मोटरसाइकल समाजसेवी चौधरीले २५ वर्षदेखि चलाउंदै आएका हुन् । २०५५ असोज १२ गतेका दिन ४९ हजार २ सय रुपैया किनेको सो मोटरसाइकलले चौधरी जीवनका हरेक वाधा अवरोध पार गर्दै २५ वर्षदेखि चढदै आएका हुन् । चिकित्सा पेशासँग आबद्ध समाजसेवी चौधरीले यही मोटरसाइकलले गाउँ गाउँ पुगेर आफ्नो उपचार सेवाबाट मान्छेहरुको जीवन जोगाउने काम गरेको र आजसम्म आफ्ना साथीको रुपमा सम्हालेर राखेको काम सराहनीय रहेको भनी लक्ष्मिनिया गाउँपालिका मेयर पदका प्रत्याशी अजय यादवले प्रशंसा गरे ।

उनले भने समाजसेवी चौधरी चाहेको भए अहिले बजारमा दिनपिच्छै राम्रो सुविधा सहितको नयाँ नयाँ डिजाइनको आइरहेको मोटरसाइकल प्रयोग गर्न सक्थे, तर उहाँ आफ्नो यात्राको साथी सम्झेर यी मोटरसाइकललाई कुनैपनि कठिनाईको बेला नछोड्नु धैर्यता ठूलो उदाहरण बन्न गएको छ ।
आफ्नो कम्पनीको एम ८० मोटरसाइकल २५ वर्षदेखि चढदै आएका चौधरीलाई सिल्बर जुबिली मनाएकोमा बजाज कम्पनी जनकपुरधाम अधिकृत विक्रेता सन्तोष साहले समाजसेवी चौधरीलाई समसँग कम्पनीका ३२ इन्चको टेलिभिजन उपहार दिई सम्मान गरेका छन । यस्तै मेयर पदका प्रत्याशी अजय यादवले आफ्नो गाउँको गौरव बढाएको भन्दै उहाँलाई आइशर कम्पनीको वाटर डिस्पेन्सर जार उपहार दिएका थिए ।

सो कार्यक्रममा एमाले नेता सन्तोष यादवले पनि समाजसेवी चौधरीले मोटरसाइकल लिएर गाउँ गाउँ पुगेर गरेको समाज सेवाको योग्दान बारे चर्चा गरेका थिए । सो कार्यक्रममा सपही गाउँका बुद्धिजीवी, नागरिक समाजका अगूवा सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !