जनकपुरधाम, भदौ १७ । घाउको शल्यक्रियाको गर्दा चिकित्सकले गज भित्रै छोडेको आरोप लगाइएको छ ।
महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै गज छोडेको आरोप लगाइएको हो । शल्यक्रिया गरेपछि दुख्ने र घाउबाट पिप आउने भएपछि बिरामीले पुनः अर्को अस्पतालमा शल्यकृया गर्दा शरीरभित्रै गज भेटिएको पीडितको भनाई छ ।
भदौ ५ मा डा. मुकुन्द झाले मन्दीपको घाउको शल्यक्रिया गरेका थिए । साउन ४मा मोटरसाइकल दुर्घटना भएर चोट लागेपछि मन्दीपले साउन ३२मा नारायण इएनटी एण्ड प्लास्टिक सर्जरी सेन्टरमा कन्सलटेन्ट प्लास्टिक, रिकन्सट्रक्टिभ एवं ह्याण्ड सर्जन डा. मुकुन्द झासँग जाँच गराएका थिए ।
उनले शल्यक्रिया गरे घाउ निको हुने आश्वासन दिएर नवजीवन हस्पिटलमा भर्न हुन आग्रह गरे । त्यसै दिन साँझ ४ बजे शल्यक्रिया गरे । आठ वटा टाँका लगाए । एक सातापछि डिस्चार्ज गरे, शल्यक्रिया र अस्पताल शुल्क गरी ६५ हजार रुपैयाँ लिएको मन्दीपले बताए ।
दुई/तीनदिन घरमा ड्रेसिङ गर्दा घाउबाट पीप आउन थाल्यो, फोन गर्दा डा. झाले उठाउन छाडेको मन्दिपले आरोप लगाए । घुँडा निको नभएपछि भदौ १२मा मन्दीप प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । अर्थोपेडिक सर्जन डा. सन्दीप शर्माले पुनः शल्यक्रिया गर्दा घाउमा कपडा भेटिएको हो ।
अन्यत्र कतै अप्रेसन गराउनुभएको थियो । तर निरन्तर घाउबाट पिप आयो भन्नुभयो । शंका लागेर टाँका खोलेँ । भित्र केही वस्तु छ जस्तो लाग्यो’ उनले भने, ‘भित्र गज रहेछ, निकालेर फेरि सरसफाइ गरी टाँका लगाइदिएको छु ।’
भित्र छाडिएको वस्तु धेरै दिन ननिकालेको भए घाउ अझै जटिल हुन सक्ने डा. शर्मा बताउँछन् । चिकित्सकको लापरबाहीले आफ्नो स्वास्थ्य झण्डै जोखिममा परेको बिरामी मन्दीपले बताए ।
यता चिकित्सक झाले यो उपचारको विषयमा नभएर पैसाको विषयलाई लिएर बखेडा झिकिएको दावी गरे । उनका अनुसार नवजीवन अस्पतालमा आफूले मन्दिपको शल्यकृया गरेको तर गज छुटे नछुटेको विषयमा आफूलाई जानकारी नरहेको बताए ।
उनले भने ‘गज छुटे नछुटेको देखभाल गर्नु नर्सको काम हुन्छ, नर्सले सबै गज बाहिर निकाली सकेपछि मात्रै आफूले शल्यकृय भई सकेको बुझे ।’ तर पछि आएर मात्रै गज छुटेको थाहा पाएको उनको भनाई छ । चिकित्सक झाका अनुसार शल्यकृया टिममै बिरामीकै भाउजु नर्सको रुपमा शामिल भएको दावी गरे । मन्दिपका भाउजु रोमी यादव आफै सो अस्पतालमा नर्सको रुपमा कार्यरत छिन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !