जनकपुरधाम, साउन ३२ गते । मधेश प्रदेशमा अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराइरहेको बताइएको छ ।
बिहीवार जनकपुरधाममा कृपाद्वारा आयोजित मधेश प्रदेशमा सुरक्षित गर्भपतन सेवामा रहेको ग्यापलाई सम्बोधन गर्न पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा कृपाका प्रतिनिधि डा. महेश पुरीले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन् ।
उनले भने नेपाल सरकारको सन् २०१५ को तथ्यांक अनुसार ४२ प्रतिशत महिला मात्रै सुरक्षित गर्भपतन गराइरहेका छन भने ५८ प्रतिशतले सरकारले मान्यता नदिएका ठाउँमा असुरक्षित गर्भपतन गराई रहेका छन् । जसमा मधेशमा सबभन्दा बढी भ्रुणको लिँग पहिचान गरी गर्भपतन गराउनेको संख्या बढी रहेको छ ।
पुरीले भने सेवा प्रभावकारी हुनुभन्दा पनि सेवा नपाउने अवस्था रहेको छ । उनले दिएको जानकारी अनुसार १२ हप्तामाथिका ४० प्रतिशत गर्भवतीले सेवा नपाउने गरेको र १० प्रतिशतले सेवा लिन गएपनि नपाएर फर्किने गरेको कहाली लाग्दो अवस्था रहेको छ ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका श्रवण नायकले मधेश प्रदेशमा सुरक्षित गर्भपतन सेवाको उपलब्धी, चुनौती र समाधानका उपायहरु बारे प्रकाश पारेका थिए भने कृपाका डा. उधव पुरीले सुरक्षित गर्भपतन सेवामा संचारकर्मीको भूमिका र दायित्व बारे चर्चा गरेका थिए ।
सो अन्तरक्रिया कार्यक्रममा जनकपुरधामस्थित स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमका दर्जनौ पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागी पत्रकारले मधेश प्रदेशमा सुरक्षित गर्भपतनको तथ्यांक र सेवा प्रदायक संस्थाको विवरण प्रस्तुतीमा कमी देखिएको औल्याएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !