जलेश्वर, साउन ११ गते । वर्षा नभई खेत सुख्खा पर्दै गएकोमा महोत्तरीको मटिहानी नगर कार्यपालिकाले आफ्नो पालिकालाई सुख्खाक्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ ।
बिहीबार सम्पन्न नगर कार्यपालिकाको पूणर् बैठकबाट मा साउन दोस्रो साता बित्नै लाग्दासम्म पानी नपरेर मुख्य बाली धान लगाउन नपाएको भन्दै नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत कार्यक्रम दिन माग गरेको हो ।
“असार १५ अघि सकिनु पर्ने धान रोपाइँ यसपालि साउन मध्य हुनलाग्दासम्म अघि बढ्न सकेन”नगर प्रमुख हरिप्रसाद मण्डलले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “अब ठूलो अनिकालको लक्षण देखिएको बुढापाका भन्दैछन्, त्यसैले हामीले सरकारको ध्यानाकर्षण गराएका छौं ।”
नगर कार्यपालिकाले सुख्खाक्षेत्र घोषणासँगै अब वैकल्पिक खेतीतर्फ किसानलाई अग्रसर गराउन, भोकमरी लाग्न नदिन पूर्वसजगता अप्नाउन, राहत कार्यक्रम अघि बढाउन , किसानलाई धान लगाउन नपाएपछि गरिने अन्य खेतीका लागि बीउ, मल, आवश्यक कृषि ज्यावल र सुलभ ऋणको प्रबन्ध गर्न माग गरेको छ ।
मटिहानी नगरक्षेत्रमा एक हजार ६८६ हेक्टर जग्गा खेतीपाती योग्य रहेको मध्ये एक हजार २ सय हेक्टरमा धान खेती गरिन्थ्यो । स्थायी सिंचाईको प्रबन्ध नहुँदा आकासे पानीको भरको खेती यसपालि पानी नपर्दा धान बाली लगाउन नपाइएको नगरप्रमुख मण्डलले भने ।
औपचारिक रुपमै सरकारसँग सुख्खाक्षेत्र घोषणा माग गर्ने प्रदेशका १३६ वटै पालिका मध्ये मटिहानी नगरपालिका पहिलो पालिका हो । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतह रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !