जनकपुरधाम, जेठ १२ गते ।
मधेश प्रदेशमा दलित र सीमान्तकृत वर्गको उत्थान तथा विकासका लागि नागरिक समाज र सञ्चार कार्यक्रम शुभारम्भ भएको छ ।
शुक्रवार जनकपुरधामबाट अमेरिकी दातृ निकाय युएसएडको मधेश प्रदेशमा नागरिक समाज र सञ्चार कार्यक्रम (सीएसएम) को शुभारम्भ भएको हो । मधेश प्रदेश सरकारकी विनाविभागीय मन्त्री सुरिता कुमारी साह र अन्तराष्ट्रिय विकास नियोग युएसएड नेपालका निमित्त निर्देशक क्यारेन वेल्चद्वारा सामुहिक रुपमा कार्यक्रमको शुभारम्भ गरिएको छ ।
कार्यक्रमलाई शुभारम्भ गर्दै प्रमुख अतिथि मन्त्री साहले दलितहरुको विकासका लागि आफू शुरुदेखि नै सक्रिय रहेको बताउंदै पछिल्लो पटक ऐन मार्फत दलित विकास समिति गठन गरेको बताईन । उनले भनिन् ‘प्रदेश सरकारबाट आफू दलित र सीमान्तकृत वर्गका लागि सकेसम्म सहयोग गर्ने प्रयासमा रहेकी छु र यूएसएडद्वारा सञ्चालित नागरिक समाज र सञ्चार कार्यक्रमसँग हातोमालो गर्ने प्रतिबद्धता जनाईन ।
कार्यक्रममा नागरिक समाजको तर्फबाट महिला, मानवअधिकार एवं दलित अधिकारकर्मी अगुवा देव कुमारी महराले सीमान्तकृत समुदायका महिला र किशोरीहरुको पिडा सुनाएकी थिइन भने सञ्चारको तर्फबाट नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु कुमारी मिश्र र पत्रकार जगदिश शर्माले सञ्चार क्षेत्रको अवस्था, चुनौती, मुद्दा उठान लगायत सान्दर्भिक विषयमा आ आफनो धारणा राखेकी थिइन ।
युएसएडको १ करोड ८५ लाख अमेरिकी डलर सहयोगमा सञ्चालित यो कार्यक्रम द एसिया फाउन्डेशनद्वारा मधेश र लुम्बनी प्रदेशमा कार्यान्वयन हुनेछ । सो अवसरमा युएसएड नेपालका निमित्त निर्देशक क्यारेन वेल्चले नेपालमा विद्यमान लोकतन्त्रलाई सुदृढगरि लोकतन्त्रको मुल उद्देश्य सबै वर्ग र समुदायको अधिकार र पहुँच अभिवृद्विका लागि नागरिक समाज र सञ्चार माध्यमको सहयोगबाट कार्यक्रम सार्थक हुने उद्देश्यका साथ कार्यक्रम ल्याइएको बताइन् ।
द एसिया फाउन्डेशनकी नेपाल प्रतिनिधी मेगन नाल्बोले स्थानिय स्तरमा कार्यरत संस्थाहरु संग आत्मनिर्भर एवं उत्थानशील समुदायको विकास गर्ने र स्थानिय सरकार संग समन्वय एवं साझेदारी गर्दै समुदायको समस्या समाधान गर्ने क्षमता यस कार्यक्रमले आर्जन हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा सीमान्कृत समुदायको विद्यमान अवस्था, मिडियाको मुद्दा उठान सहितको विषय समेटेर लोकसञ्चार संस्थाका आयोजनामा मिनापका कलाकारहरुले नाटक मञ्चन गरेका थिए । सो अवसरमा कार्यक्रम अन्तर्गत फेलोशिप पाएकी तिनजना रौतहट, महोतरी र धनुषाकी पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !