जनकपुरधाम, ८ वैशाख ।
इस्कोन जनकपुरधामले यस वर्षको जानकी नवमी श्रीमद् भागवत महायज्ञ सहितका सप्ताहव्यापी कार्यक्रम संचालन गरी मनाउने भएको छ ।
जगतजननी माता जानकीको जन्मोत्सवको अवसरमा इस्कोन नेपालले वैशाख ९ गते शनिवारदेखि वैशाख १७ गतेसम्म जनकपुरधाम २३ दुधमति पुल नजिक रहेकाे इस्काेनकाे मन्दिरमा श्रीमद् भागवत कथा, श्रीरामजानकी महाअभिषेक र भगवान जगन्नाथको नगरमा रथयात्रा सहितका कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
इस्कोन जनकपुरधामका प्रमुख पुरुष भूषण दासले एक शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी शनिवारदेखि १५ गतेसम्म बेलुका ४ देखि ७ बजेसम्म श्रीरामानुज दासद्वारा भागवत कथा वाचनका साथै प्रत्येक दिन मंगल आरती, नरसिंह प्रार्थना, तुलसी आरती, चैतन्य शिक्षाष्टक पाठ, सामूहिक जाप, गुरुपूजा, भजन किर्तन राजभोग एवं सांस्कृति कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
यसका साथै वैशाख १६ गते जानकी नवमीको अवसरमा भगवान श्रीरामजानकीको महाअभिषेक दिनभरि गरिनेछ भने वैशाख १७ गते भगवान जगन्नाथको नगरभरि रथयात्रा प्रदर्शन गरिनेछ । सप्ताही कार्यक्रम अन्तर्गत प्रत्येक दिन १०/१५ हजार श्रद्धालुलाई महाप्रसादको रुपमा बिहान र बेलुका भोजन गराउने लक्ष्य राखिएको छ ।
सो सप्ताहव्यापी कार्यक्रमका लागि जनकपुरधाम उपमहानगरपालिकाबाट चापाकल जडान, अस्थायी शौचालय लगायतका व्यवस्थापन गरिएको पत्रकार सम्मेलनमा उपस्थित मेयर मनोज साहले जानकारी दिए ।
अमेरिकास्थित अन्तर्राष्ट्रीय कृष्णभावनामृत संघ (इस्कोन) को संस्था विश्वभरि नै छरिएको छ । नेपालको विभिन्न स्थान सहित जनकपुरधाममा समेत भगवान जगन्नाथको मन्दिर स्थापना हुन लागेको हो । करीब डेढ अर्बको लगानीमा निर्माण हुने सो मन्दिर निर्माणका लागि उपमहानगरपालिकाले दुई विघा जग्गा उपलब्ध गराएको छ । सो जग्गामै जानकी नवमीको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुन लागेको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !