जनकपुरधाम, ५ वैशाख । मेयर्स फोरमको दोश्रो बैठक सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै मंगलबार सम्पन्न भएको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्सँगको परामर्श तथा समन्वयमा हरित, समावेशी, रोजगारी प्रवर्धन तथा आर्थिक विकासमा आधारित यस क्षेत्रको दीर्घकालीन योजना तयार गर्ने, यातायात तथा पूर्वाधार सुधार, सम्पदा संरक्षण लगायत कुरा मेयर्स फोरमले घोषणापत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै, एकीकृत पर्यटन प्रवर्धनका लागि निश्चित मापदण्डको आधारमा आयोजना छनोट तथा श्रोत सुनिश्चित गर्ने, पालिकाभित्रका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको पहिचान गरी अगामी ६ महिनाभित्र एकीकृत सूची तयार गर्ने, यसका लागी वार्षिक बजेट सुनिश्चित गर्ने, त्रैमासिक बैठकको व्यवस्था गर्ने लगायत प्रमुख विषयहरु समेत समेटिएको छ ।
गत फागुनमा महोत्तरीको मठिहानी नगर पालिकामा सम्पन्न धनुषा र महोत्तरीका ११ पालिकाका प्रमुखहरुको बैठकले मिथिला माध्यमिकी परिक्रमा क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका संरचनाहरुको सुरक्षा, संरक्षण तथा विकास गर्ने उद्देश्यले मेयर्स फोरम गठन गरिएको थियो । फागुन अमावश्यादेखि फागुन पूर्णिमासम्म चल्ने मिथिला मध्यमा परिक्रमा क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका मठ मन्दिर, पोखरी र स्थलहरुको सुरक्षा, मर्मतसंभार र विकास गर्न तथा ती क्षेत्रको सामाजिक, आर्थिक र सांस्कृतिक विकासका पूर्वाधारहरु विकास गर्ने सम्बन्धमा अन्तर स्थानीय तह, प्रादेशिक र संघीय सरकारसँग समन्वय र सहकार्य गर्ने योजना गठनको रहेको छ ।
धनुषाको कचुरीस्थित मिथिला बिहारी मठबाट सुरु हुने मिथिला माध्यमिक परिक्रमा धनुषाको मिथिला बिहारी, क्षीरेश्वर, धनुषाधाम, सबैला नगर पालिका, जनकपुरधाम उपमहानगर पालिका, औरही र मुखियापटी मुसरनिया गाउँपालिका तथा महोत्तरीको मठिहानी, जलेश्वर, भंगहा, विजुलपुरा नगर पालिका र महोत्तरी गाउँपालिका हुँदै गइरहेकाले, ती पालिका प्रमुखहरुको छाता संगठनको रुपमा मेयर्स फोरम रहेको छ ।
नेपालकै सबभन्दा लामो अवधिसम्म चल्ने तथा लाखौं श्रद्धालुको सहभागिता रहने मध्यमा परिक्रमासँग सम्बन्धित ११ वटा विश्रामस्थलहरुमा खानेपानी, आवास, शौचालय, सडक, विजुली आदिको एकीकृत व्यवस्थापन गरेर वर्षभर पर्यटक आकर्षित गर्नसक्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह लगायतको पहलमा मेयर्स फोरम गठन गरिएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !