जनकपुरधाम, चैत २० गते । अनलाइन ठगी कारोबारमा संलग्न आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरुलाई जनकपुरधामको विडारी चोकस्थित बर्गर हाउसकाे नजिकै रहेकाे बिर बहादुर राउतको घरको दोस्रो तल्लाबाट सोमबार साँझ पक्राउ गरेको हो।
उनीहरुले पिडारी चोकमै राउतकाे भाडामा लिएर अवैध रूपमा कल सेन्टर संचालन गरि अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।

उनीहरुले विभिन्न एपमार्फत हनिट्र्याप जस्तो धन्दा गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेकाे प्रहरी नायव उपरीक्षक गौतमले बताए। पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला रहेको तिनीहरुमाथि थप अनुसन्धान भइरहेको गौतमले जानकारी दिए।
पर्सा पकहा मोहनपुर वडा नम्बर ५ का सत्यानन्द रामले यो गिरोहको नेतृत्व गर्दै आइरहेका र उनकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
यता, जनकपुरधाममा धनुषाको सबैला घर भइ जनकपुरमै रहँदै आएकी सञ्जु साहले अनलाइन ठगीको कारोबार सम्हाल्दै आएको प्रहरीको आरोप छ। साे गिरोहमा २० देखि २८ वर्ष उमेर समूहका युवा युवती रहेको पाइएको छ। आधाभन्दा बढी युवतीहरुले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्विर आदानप्रदान मार्फत नग्न फोटो भिडियो बनाएर ब्ल्याकमेल गर्दै रकम उठाउँदै आएको प्रहरीको दाबी छ।
उनीहरुले विगत ३ महिनादेखि दिलाजी आइटी कम्पनी काठमाडौँ–८ को नाममा जनकपुरधाममा अवैधरुपमा यस्तो कारोबार सञ्चालन गरिरहेका थिए । काठमाडौँमा यस्ता गिरोह पक्राउ पर्न थालेपछि उनीहरु जनकपुरधाममा आएर विदेशीलाई टार्गेट गरि अवैध धन्धालाई अगाडी बढाउँदै आएको थियो ।
प्रहरीले घटनास्थलबाट ३० वटा कम्प्युटरमा ईन्टरनेट जडान गरी काम गरि रहेको र ६० वटा तयारी अबस्थामा राखेको कम्प्युटर समेत फेला गरी जम्मा ९० थान कम्प्युटरसहितविद्युतीय सामाग्री सहित, २ थान मोटरसाईकल बरामद गरेकाे जनाइएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !