जनकपुरधाम, फागुन १२ गते । बालुवा र गिट्टीकाे अवैध उत्खनन बिरुद्ध आवाज उठाउने दिलीप महतोको हत्यामा संलग्न रहेकाे आराेपमा ३ जनालाई कैदको फैसला सुनाइएको छ ।
शुक्रवार जिल्ला अदालत धनुषाले महतोको हत्यामा संलग्न २ जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो ।
न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले दिलीपको हत्यामा संलग्न रहेकाे आराेपमा विपिन महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्षको सजाय सुनाइएको छ भने कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार विकास बस्नेतले जनाएकाे छ ।
जितेन्द्रलाई २ लाख ५० हजार जरिवाना समेत गरिएको छ । विपिन र मुनिन्द्रलाई ५/५ लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यो रकम पीडित परिवारलाई उपलब्ध गराउनुपर्ने फैसलामा भनिएको श्रेस्तेदार बस्नेतले बताए ।
उनीहरुले जरिवाना बुझाउन नसके राज्यकोषबाट क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने फैसलामा भनिएको छ । यसअघि फागुन ३ गते उनीहरुलाई अदालतले दोषी ठहर गरेको थियो ।
चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र उनका दुई सहयोगीलाई अदालतले तोकेको सजायप्रति पीडित परिवार भने असन्तुष्ट छ । उनीहरुलाई आजीवन कैद हुनपथ्र्यो भन्दै दिलीपकी बहिनी लक्ष्मी भन्छिन्, ‘चार जनालाई त अदालतले सफाइ दियो । यसमा पनि हाम्रो चित्त बुझेको छैन ।’
चार जनालाई सफाइ दिने फैसलाविरुद्ध उच्च अदालत जाने रामजीवन बताउँछन् ‘तीन जनाले मेरो छोराको हत्या गर्दा बचाउन नखोजी हेरेर बस्नेहरु पनि हाम्रो नजरमा दोषी छन्’, उनले भने, ‘उनीहरुलाई पनि सजाय नभएसम्म मेरो छोराको आत्माले शान्ति पाउँदैन, हामी परिवारलाई पनि चैन मिल्दैन ।’ बिनामुचुल्का शव उठाउने इलाका प्रहरी कार्यालय ढल्केबरका तत्कालीन इन्सपेक्टर रामकुमार यादव र मिथिला नगरपालिका वडा नं. ५ का तत्कालीन वडाध्यक्ष श्याम यादवलाई अभियुक्त नै नबनाएकोमा पनि महतो परिवार असन्तुष्ट छ ।
२५ पुस २०७६ मा घरभन्दा ५०० मिटर पर औरही खोलामा २४ वर्षीय दिलीप महतोको हत्या भएको थियो । बिहान ४ बजे डोजर चल्न थालेको थाहा पाएपछि साथी रोशनलाई लिएर उनी खोलामा पुगेका थिए । दिलीपको हत्या भएको खबर रोशनले नै ल्याएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !