जनकपुरधाम, कार्तिक २६ गते । महाेतरी क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले मधेशलाई अधिकार सम्पन्न बनाउन संघर्ष जारी नै रहेको बताएका छन् ।
संविधान संशोधन, नागरिकता समस्या समाधान, प्रदेशलाई अधिकार सम्पन्न बनाउने लगायतका विषय अहिले पनि पूरा हुन नसकेकाले यसका लागि संघर्ष जारी नै रहेको बताएका हुन् । मधेश र मधेशीका लागि लड्ने दल लोकतान्त्रिक समाजवादी पार्टी मात्रै रहेको दावी गर्दै आफ्नो दलको पक्षमा मतदान गर्न अपिल गरेका हुन् ।
मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनु नै लोसपाको प्रमुख एजेण्डा रहेको उनको भनाई थियो । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका लोसपा नेता भण्डारीले यी एजेण्डा पूरा गर्नकै लागि सत्ता गठबन्धनसंग चुनावी तालमेल गरेको बताए ।
लोसपाले मधेशका साथै पूरै देशकालागि समस्याको रुपमा रहेको नागरिकता समस्या समाधानकै लागि एमालेसंग मिलेर समेत काम गरेको स्मरण गराउँदै भने ‘मधेशको समस्या समाधानका लागि हामीले एमाले जस्तो प्रतिगामी दलसंग मिलेर समेत काम गर्यौँ, अब सत्ता गठबन्धनसंग मिलेर मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा काम गर्नेछौँ ।’
मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजातीको सवालमा लोसपा मात्रै गम्भिर रहेको दावी गर्दै जनताले लोसपामाथी विश्वास गर्ने दावी गरे । ८ लाख नेपाली युवा जो नागरिकता बिना केही गर्न पाईरहेका छैन, उनीहरुको समस्या समाधान पनि हाम्रो प्रमुख एजेण्डा रहेको भण्डारीको भनाई थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !