जनकपुरधाम, कार्तिक ९ गते । धनुषा ३ (क) बाट जनमत पार्टीका उम्मेदवार डा. प्रसन्नकुमार झाले छठ पर्वकाे शुभकामना आदान प्रदान गर्दै मतदातासंग मत मागेका छन ।
उम्मेदवार झाले मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर २ मा दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेका छन् । शुभकामना आदान प्रदानसंगै उनले आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह समेत गरेका थिए ।
यस अघि यहाँका मतदाताले जिताएको प्रतिनिधि भ्रष्टाचारमै चुर्लुम्म डुबेको जनताले बुझि सकेकाले अब युवा उम्मेदवारलाई अवसर दिन उनले आग्रह गरेका थिए । भ्रष्टाचारलाई जड़ैदेखि निर्मूल नपारिएसम्म प्रदेश र देशको विकास नहुने बताउँदै उम्मेदवार झाले स्वच्छ छविका उम्मेदवारलाई मत दिन आग्रह गरे ।
जनमत पार्टी निरन्तर भ्रष्टाचार बिरुद्ध आवाज उठाउँदै आईरहेको उनले स्मरण गराए । यसका साथै आगामी दिनमा पनि भ्रष्टाचार बिरुद्ध आवाज उठाउने उनको भनाई थियो ।
मधेस प्रदेशको शिक्षा र स्वास्थ्यको अवस्था त जर्जर छ नै त्यसमाथी भौतिक संरचना निर्माणमै करोडौ खर्च गरिएपनि विकासको अनुभूति हुन नसकेकोमा दुःख व्यक्त गरे । विकासको नाममा करोडौँ खर्च हुन्छ तर काम कागजमै सीमित हुन्छ यस्तै परिपाटीको अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको मतदाता माझ डा. झाले बताए ।
यसका साथै आफू युवा रहेकाले म भित्र केही गर्ने ईच्छा र आँट छ, मलाई मत दिनुस केही गरेर देखाउँछु उनले प्रतिबद्धता जनाए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !