जनकपुरधाम, कात्तिक ८ गते । कार्तिक कृष्ण औँसीका दिन मंगलवार ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आज दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिएका छन । यो ग्रहणको अवधि ३२ मिनेट मात्र भएकाले शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रहण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा लाग्नेछ भने अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।
उनका अनुसार कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ भने पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुँदैन’ । सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए ।
उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ । सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशि भएकालाई सुख, मिथुन राशि भएकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ ।
यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ । कुम्भ राशि भएकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ ।
ग्रहणमा के के गर्न हुने/नहुने
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि भोजन गर्नु हुँदैन ।
ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।
यही महिनाको २२ गते मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !