जनकपुरधाम, असोज ३० गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का वरिष्ठ नेता एवं महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार वरिष्ठ चिकित्सक डा. विजय कुमार सिंहले मेरो उम्मेदवारी दुर्गम रुपमा पछाडि पारिएका यस क्षेत्रको विकासका निम्ति रहेको बताएका छन ।
चुनाव प्रचार प्रसारका लागि क्षेत्रको रौजा मजारमा गरेको घर दैलो तथा स्थानीय अगुवा बुद्धिजीवीहरुको भेटघाटको क्रममा नेता सिंहले यो क्षेत्र सधैं एकल व्यक्ति शरतसिंह भण्डारीको वर्चस्व रहेको कारण विकास हुन नसकेको भन्दै आफ्नो उम्मेदवारी कुनै व्यक्तिप्रति लक्षित नभई यहाँका जनताको विकास र अधिकार सहितको पहिचानको निम्ति रहेको बताए ।

स्थानीय बुद्धिजीवीहरु पनि नेता सिंह समक्ष १८ पटकसम्म शरतसिंह यस क्षेत्रको विकास गर्न नसकेको गुनासो गर्दै भने यस पटक तमलोपालाई सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । ती बुद्धिजीवीहरुलाई नेता सिंहले ‘कृषि, उद्योग र व्यापारको सधैं पछाडि पारिएका यस क्षेत्रलाई आफू जितेपछि विकास गर्नेछु विश्वास दिलाए ।
साथै उनले मधेश आन्दोलनपछि यहाँबाट मधेशी पार्टीका नेताहरु जितेपनि तिनीहरु सत्तामा पहुँच बनाउन मधेश आन्दोलनको मुद्दा बिर्सेर मधेशी जनतासँग विश्वासघात गरेको औल्याउंदै अब आउने दिनमा तमलोपाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए ।
सो घरदैलो तथा स्थानीय बुद्धिजीवीसँगको भेटघाटको क्रममा प्रदेश सभा सदस्यको उम्मेदवारद्वय क्षेत्र २ (क) का मोहम्मद इदरिस राईन र क्षेत्र २ (ख) का रामकृपाल साहको सहित तमलोपाका दर्जनौ नेता कार्यकर्ताको सहभागिता रहेको थियो । घरदैलो तथा स्थानीय बुद्धिजीवीसँगको भेटघाटका साथै उम्मेदवार डा. सिंहले रौजा मजारमा मस्जिदमा इस्लामिक परम्परा अनुसार पुजापाठ समेत गरेका छन ।

आउंदो निर्वाचनमा सो क्षेत्रबाट सत्तारुढ गठबन्धनको लोसपाबाट उम्मेदवार बनेका भण्डारी पटक पटक जितेपनि शिक्षा, स्वास्थ्य कृषि, उद्योग, सार्वजनिक र निजी क्षेत्रमा शिक्षित युवाहरु रोजगारबाट वञ्चित रहेको छ ।
सो क्षेत्रको अधिकांश भागलाई शरतसिंहले विकासको आश्वासन दिएर वर्षौदेखि राजनीतिक गर्दै आएका छन । पटक पटक चुनावमा विकासकै आश्वासन दिएर मन्त्री समेत १८ पटकसम्म बनेपनि विकासको अवस्था निकै पछाडि परेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !