जनकपुरधाम, असोज १६ गते । स्थानीयबासीले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गरेका छन् ।
देशभर डेंगु बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा जनकपुरधाममा यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न स्थानीयबासीले उपमहानगरसँग आग्रह गरेका हुन् ।
देशव्यापी रुपमा फैलिएको डेंगु नियन्त्रण तथा रोकथाममा स्थानीय सरकारको यथेष्ट ध्यान पुग्न नसकेको राराब क्याम्पसका पूर्व स्ववियू सभापति उमेश चौधरीले गुनासो गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर साहेब ! मच्छर नियन्त्रणमा ढिलाई भयो भने जनकपुरधाममा डेंगु महामारी अवश्यम्भावी छ । जनताको स्वास्थ्यप्रति संवेदनशील हुनुस् ।’
उनले देशव्यापी रुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति जनकपुरधाम उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक रहेको बताएका छन् ।
त्यस्तै, नेकपा एमालेका नेता शिवशंकर साह हिराले पनि नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेंगु संक्रमण गराउने जातका लामुखुट्टे उत्पादन हुने ठाँउहरु नष्ट गर्न र यससम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन उपमहानगरसँग माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा प्रश्न गर्दै लेखेका छन्, ‘हेक्का होस् । जनकपुरधाममा डेंगु फैलिनबाट रोक्ने जिम्मेवारी कसको? अहिलेदेखि नै सतर्कता अपनाउनुपर्ने हो र मच्छर नियन्त्रणको निमित्त पाइला चाल्नुपर्ने हो । मच्छर नियन्त्रण स्थानीय निर्वाचनको प्रमुख मुद्दा पनि थियो । वाचा याद रहोस् ।’
अहिले दसैंको समयमा बजारमा जताततै फोहोरको थुप्रो देखिएको र ठेलामा (भुजा, छोला, समोसा)लगायतका खाद्यान्न सामग्री बेच्ने व्यापारीहरुले झन मानव स्वास्थ्यको कुनै ख्याल नै नगरि नालाहरुको छेउमै व्यापार सञ्चालन गरिरहेकोले यसले डेंगु संक्रमणको जोखिम रहेकोप्रतिसमेत उनले उपमहानगरको ध्यानाकर्षण गराएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणको नाममा अहिलेसम्म करोडौँ रकम स्वाहा गरे पनि नगरभित्र लामखुट्टेको समस्या ज्युँका त्युँ देखिन्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !