जनकपुरधाम, असाेज १४ गते । मधेश प्रदेशमै सबभन्दा बढी भ्रष्टाचार धनुषा जिल्लामा रहेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ ।
आयाेगकाे बर्दिबास कार्यालयले मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बुझाएको आफ्नाे ३२ औँ वार्षिक प्रतिवेदनमा प्रदेशका ८ जिल्ला मध्ये आर्थिक वर्ष २०७८/७९ मा धनुषा जिल्लामै उजुरी परेकाे देखाइएकाे छ ।
अख्तियारको बर्दिवास कार्यालयमा ९१५ थान उजुरी परेकोमा ३३९ उजुरी धनुषा जिल्लाबाट मात्र परेकाे छ । जसमा ४९ थान मुद्दा जनकपुर उपमहानगरपालिकाविरुद्ध परेको आयोगका बर्दिबासस्थित कार्यालय प्रमुख गोपालकुमार अधिकारीले जनाएको छ ।
त्यसपछि दोस्राे नम्बरमा सिराहाबाट १९९, सर्लाहीबाट १५० र महोत्तरीबाट १३३ उजुरी परेका थिए । बागमती प्रदेशका सिन्धुलीबाट ३५ र रामेछापबाट तीन थान मात्र उजुरी दर्ता भएका थिए ।
त्यस्तै, १ नं प्रदेशको उदयपुरबाट एउटा पनि उजुरी परेको छैन । तर खोटाङबाट २९ र ओखलढुङ्गाबाट १० वटा परेको अख्तियारको बर्दिबास कार्यालयले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
आयोगको बर्दिबासस्थित कार्यालय मातहतका कार्यक्षेत्रमा मधेश प्रदेशको ४ जिल्ला महोत्तरी, धनुषा, सिराहा र सर्लाही तथा बागमती प्रदेशका सिन्धुली, रामेछाप र प्रदेश १ का खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु गरी नौवटा जिल्ला पर्दछन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगका बर्दिबासस्थित कार्यालय प्रमुख गोपालकुमार अधिकारीले मिश्रसमक्ष आव ०७८/०७९ को प्रतिवेदन पेस गरेकाे हाे ।
प्रदेश प्रमुखसमक्ष बुझाइएको ४४९ पृष्ठ लामो प्रतिवेदनमा आयोगबाट भएका कार्यको विश्लेषण, भ्रष्टचार नियन्त्रणका निरोधात्मक र प्रवर्धनात्मक प्रयास, रणनीतिक प्रवृति र भावी कार्यदिशा एवं सुझाव लगायतका बुँदा समेटिएकाे छ ।
प्रतिवेदन बुझाएलगत्तै आयोगले बर्दिबासस्थित कार्यालयमा बुधवार साँझ आयोजना गरेको पत्रकार भेटघाटमा प्रमुख अधिकारीले ‘सदाचारयुक्त’ समाज निर्माणमा आयोगले गरेका काम कारवाही, प्रयास र प्रगतिको बारेमा जानकारी गराएकाे थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !