जनकपुरधाम, असोज ५ गते । निलम्बित सभासद संजय साह टकलालाई सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुद्दामा उच्च अदालत जनकपुरधामले जिल्लाको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
बुधवार उच्च अदालत जनकपुरधाले साह सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकारको रहेको ठहर गर्दै पछिल्लो पटक जिल्ला अदालत धनुषाले गरेको फैसलालाई सदर गर्दै जन्मकैद सजायको फैसला सुनाएको हो ।
उच्च अदालतको इजलास नं. ३ मा आठ दिनसम्म चलेको बहस सुनुवाई पछि न्यायधीशद्वय डालकुमार खड्का र प्रमोद कुमार श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई उचित रहेको भन्दै त्यसलाई उल्टाउने नदेखिएको भनी सदर गरिएको राजिष्टार खडगराज अधिकारीले बताएका छन ।
सो मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादव बहस गरेका थिए भने जाहेर बालाको तर्फबाट आधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्कीले बहस गरेको थिए ।
त्यस्तै प्रतिवादी संजय साहको तर्फबाट वरिष्ठ आधिवक्ता श्यामकुमार मिश्र, वरिष्ठ आधिवक्ता धर्मेन्द्र शर्मा, वरिष्ठ आधिवक्ता सुरेन्द्र महतो, आधिवक्ता प्रकाश कुमार घिमिरे, ओम प्रकाश सिंह र दिपेन्द्र सिंहसहित ६ जना अधिवक्ताले बहस गरेको अधिकारीले बताएका छन ।
जनकपुरधाम स्थित जनकपुर टुडे पत्रिकाका सञ्चालक सञ्चार उद्यमी सिंघानियाको ०६६ साल फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो । सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो ।
जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउंदै साहले ०७६ असोज ७ गते उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेको थियो । साह अहिले रामानन्द चोकमा भएको बम विस्फोट घटनाको आरोपमा नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् । सो घटना निलम्बित सभासद साह सहित जिल्ला प्रहरी कार्यालय धनुषाले १२ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !