जनकपुरधाम, असोज १ गते । जनकपुरधामका चर्चित व्यक्ति मध्येका प्रकाशजंग राणाले सरकारी कागज किर्ते गरी अरुको जग्गा हड्पेको आरोप लगाइएको छ ।
करोडौ मूल्य बराबरको जनकपुरधाम प्रमुख बजार क्षेत्र वडा नम्बर २ जनक चौक स्थित ललितपुर महानगरपालिका ४ बस्ने देशपाल सिंह हमालको जग्गा सरकारी कागज किर्ते गरी आफ्नो नाममा गरेको हो ।
पिडित हमालले आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो आमा गीता रानी हमालको नाममा रहेको जग्गाको नक्कली जग्गाधनी पुर्जा बनाउन मालपोत कार्यालयबाट मिसिल फाइल समेत गायब गरेको आरोप लगाए । पिडीत हमालले न्यायका लागि राणा विरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाहेरी समेत दिएका छन ।
उनका अनुसार सि.नं. १३५५—२५ को साबिकको किता नं. १०० किताकाट भई कि.नं. १६९ ज्योतिजंग राणा र प्रकाशजंग राणा तथा कि.नं. १७० आफ्नो आमा गीतारानी हमालको नाममा हाम्रो हजुर आमा रानी पदमकुमारी रानाबाट बक्स पत्र भएको थियो ।
बुवा र आमा स्वर्गीय भएपछि कि.नं. १७० मा आफ्नो हकभोग हुन गएको भनी सो जग्गा आफ्नो नाममा गराउन मालपोत कार्यालय धनुषा जाँदा ती जग्गा त प्रकाश राणाको नाममा दर्ता भइसकेको थाहा पाएपछि आश्चर्यचकित भएको हमालले भने ।
उनले भने ३ कट्ठा २ कनमा क्षेत्रफल रहेको ती कि.नं. १७० को जग्गा आफ्नी आमा गीतारानीको नाउँ हुनुपर्नेको सट्टा किताकाट गरेर टुक्रा टुक्रा पारी केही विक्री पनि गरिसकेको र बांकी आफ्नै नाममा सरकारी कागज किर्ते गरी गराइसकेको छ । सबूत प्रमाण मेटाउन प्रकाश राणाले मालपोत कार्यालयबाट मिसिल फाइल समेत गायब गराएको र सो किर्ते कागजातको आधारमा गुठी संस्थानमा कर बुझाउंदै आएको उनले बताए ।
उनले जिप्रकामा दिएको जाहेरीमा प्रकाश राणाले किर्ते कागजातको आधारमा किता नं. १७० बाट १४ धुर ३ कनमाको कि.नं. २७५ र २ कट्ठा ५ धुर ३ कनमा क्षेत्रफलको कि.नं. २७६ कायम गराएको । फेरी ती कि.नं. २७५ बाट २७८ र २७९ दुई किता कायम गरेको मध्ये ७ धुर क्षेत्रफलका कि.नं. २७८ को जग्गा संगीता ठाकुरको नाममा विक्री गरेको र कि.नं. २७९ आफ्ना नातेदार संगिता राणाको नाममा दर्ता गराएको उल्लेख छ ।
बांकी रहेका कि.नं. २७५ को २ कट्ठा ५ धुर ३ कनमाको जग्गा प्रकाश राणाले दाबी गरेपनि मालपोत कार्यालयमा गएर बुझ्दा सो कार्यालयबाट जग्गाधनी पुर्जा नबनेको आधारमा प्रकाशले दाबी गर्दै आएको जग्गाधनी पुर्जा किर्ते गरी तयार पारिएको नक्कली रहेको पुष्टि भइरहेको हमालले पत्रकार सम्मेलनमा भने ।
हमालले आफ्नो आमाको नाममा रहेको जग्गा सरकारी किर्ते कागजको आधारमा आफ्नो नाममा गराई विक्री समेत गर्ने जस्ता ठगी कार्य गर्ने प्रकाश राणा विरुद्ध अनुसन्धान गरी मुलुकी अपराध संहिता २०७४ को दफा २७६ (१) (२) (३) र ऐ संहिताको दफा २४९ (१) (२) (३) बमोजिम कारवाही तथा सजायको माग जाहेरीमा गरेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !