जनकपुरधाम, भदौ २८ गते । अहिलेसम्म दलाल मार्फत मोटो रकम खर्चेर जनकपुरधाम यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स भइरहेको कुरा मात्रै आइरहेको थियो । तर पछिल्लो पटक वीरगञ्ज कार्यालयमा फेल भएकाहरुलाई लाइसेन्स वितरण गरिएको रहस्य समेत खुलेको छ ।
प्राप्त जानकारी अनुसार जी समूहको हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट मध्यरातमा पास गराएर लाइसेन्स बाँडिएको तीन महिनापछि घटना बाहिरिएको हो ।
यातायात व्यवस्था कार्यालय वीरगन्जमा ‘जी’ समूह अर्थात हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरधामबाट मध्यराति पास देखाइएको हो । तर लापरवाही कसको हो भन्ने कुरा जिम्मेवारी लिन एकअर्कालाई दोष देखाउंदै पन्छिन प्रयास गरिरहेका छन ।
घटनालाई स्वीकार गर्दै यातायात व्यवस्था कार्यालय जनकपुरधामका प्रमुख विरेन्द्र साहले भने घटना सही हो । तर यसमा हाम्रो कार्यालयको कुनै त्रुटि नभई विरगञ्ज कार्यालय वा सफ्टवेयर हेर्ने माथिल्लो निकायको गलती हुने सक्ने हो ।
यातायात व्यवस्था कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन मा परेका कर्मचारी मुकेश बर्माको यूजर (खाता) प्रयोग गरेर अवैध तरिकाले लाइसेन्सका लागि पास देखाइएको छ । सामान्य इन्टरनेटबाट सञ्चालन नहुने यातायात सर्भरको ईडीएलभीआरएस सफ्टवेयरमा मध्यराति रिजल्ट अपडेट गरिएको हो ।
कार्यालय प्रमुख साहले ‘कार्यालयबाट निलम्बन भएका मुकेश बर्माको युजर पनि बन्द गरिएको थियो,’ प्रमुख साहले भने, ‘करार सेवाबाट हटाइएपछि उनको युजरसमेत डिएक्टिभेट गरिएको थियो । बन्द खाताबाट यातायातको सर्भरमा अवैध लाइसेन्सको इन्ट्री हुनु दुर्भाग्य हो । थप अनुसन्धानका लागि मन्त्रालय र विभागलाई जानकारी गराइसकेको बताए ।
अवैध तरिकाले वितरण गरिएको लाइसेन्स बारे यातायात व्यवस्था कार्यालय जनकपुरधामले यातायात व्यवस्था विभाग र मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय जानकारी गराएको छ । वीरगन्ज कार्यालयले प्रयोगात्मक परीक्षामा पास गरेका परीक्षार्थीको सूची तयार गरेको थियो । पास भएकाको नाम सूचीबाट लाइसेन्सका लागि राजस्व बुझ्ने क्रममा अवैध रुपले फेल भएकालाई सर्भरमा पास गरेको पाइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कमलराज गौतमले बताए ।
सो कार्यालयका कर्मचारी सुशील साहले जनाए अनुसार लाइसेन्सको राजस्व बुझाउने क्रममा कार्यालयले तयार गरेको सूचीमा फेल तर सर्भर ईडीएलभीआरएसमा पास भएको देखिएपछि शंका लागेर क्रस चेक गर्दा जनकपुरबाट रातिको समयमा सर्भरमा रिजल्ट अपडेट गरेको पाइएको थियो । तर तिनीहरुका लाइसेन्स हाल रद्द गरिसकिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले पनि घटनालाई स्वीकार गर्दै भने जनकपुरधाम स्थित यातायात व्यवस्था कार्यालयको सफ्टवेयर हाइज्याक गरेर यस्तो गरिएको हो, तर प्राविधिक कुरा हो भन्ने बारे छानबीनपछि मात्रै भन्न सकिन्छ ।
प्राप्त जानकारी अनुसार सर्भरमा ०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा ४२ जना, जेठ ३० गते राति १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते राति १ बजेर २ मिनेटमा ५ जना र ०७८ माघ १० गते साँझ सवा ७ बजे १ जनाको ‘जी’ समुह हेभी सवारीको चालक अनुमतिपत्रको लागि जनकपुरबाट ईडीएलभीआरएसमा पास गराई इन्ट्री गरिएको छ ।
यो नौलो घटना होइन यसअघि पनि जनकपुरधाम कार्यालयबाट वितरण गरिएका १ हजार ७ सय ७० भन्दा बढी लाइसेन्स अवैध रुपमा वितरण गरिएको थियो । ती लाइसेन्सहरु रद्द गरिएपनि अनुसन्धान हुन सकेको छैन ।
यतायात व्यवस्था कार्यालय जनकपुर र वीरगन्जमा सेवाग्राहीबाट दलाल मार्फत १ लाख रुपैयाँसम्मको मोटो रकम लिएर वितरण गरिदै आएको छ । अवैध लाइसेन्स वापत दलालले संकलन गरेको रकमबाट ७५ प्रतिशत कर्मचारीहरुले नै लिने गरेको आरोप लाग्दै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !