बुटवल, भदौ ७ गते । दाङमा बन्दको मौका छोपी बिमा रकमको लोभमा परेर चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् ।
घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ । घटना पश्चात चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएका हुन ।
विप्लव माओवादी सहितका विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका छोपी बिहान गाडीमा आगजनी भएको केही बेरमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन ।
प्रहरी नियन्त्रणमा रहेकाहरुसँग अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको बयान दिएका छन । एसपी काफ्लेले आगो लगाउने चालक र सहचालक नियन्त्रणमा आइसकेका गाडी मालिकको पनि खोजी भइरहेको जानकारी दिए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !