काठमाडौं, साउन २१ गते । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा छलफल हुने भएको छ ।
संघीय संसद्ले आइतबारका लागि जारी गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने भनेको छ ।
जबराविरुद्ध १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गरिएको थियो । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए । जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरू महाभियोग गर्दा गरेका हुन् ।
प्रतिनिधिसभाले २२ फागुनमा महाभियोग सिफारिस समिति गठन गरेको थियो । यद्यपि जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अहिलेसम्म छलफल हुन सकेको थिएन ।
सम्भावित कार्यसूचीमा परेपछि अब भने महाभियोग प्रस्तावमाथि छलफल हुने ठानिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यक्रमको ४ नम्बरमा महाभियोग प्रस्तावमाथि छलफल गर्ने भनी उल्लेख गरिएको छ ।
त्यस्तै सूचीको एक नम्बरमा राष्ट्रपतिको कार्यालयको पत्र पढेर सुनाउने, दोस्रो र तेस्रो नम्बरमा प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !