जनकपुरधाम, साउन ११ गते । मधेस प्रदेशको विभिन्न जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा प्रहरीले अवैध लागू औषध र मदिरा भट्ठीमा संलग्न एक हजार भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।
मधेश प्रहरी कार्यालय जनकपुरधामले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अवैध मदिरा भट्ठी कारोबारमा संलग्न २३ जना र लागू औषध कारोबारमा संलग्न १ हजार २ सय ८५ जनालाई पक्राउ गरेको छ । यसका साथै मदिरा भट्ठीतर्फ ४ सय १३ वटा अवैध मदिरा भठ्ठीहरु नष्ट गरेको छ भने १ लाख ९८ हजार ५ सय ८५ लिटर कच्चा पदार्थ र ४० हजारभन्दा बढी तयार मदिरा नष्ट गरेको छ ।
लागू औषध कारोबारतर्फ मधेस प्रदेशबाट प्रहरीले अवैध लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा १ हजार २ सय ६० पुरुष र २५ महिला गरी कूल १ हजार २८५ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध तर्फ प्रहरीले ४ हजार ३५ किलो ८६० ग्राम गाँजा, १६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हिरोईन, २१३ लिटर डाईलेक्स डिसि, ७० हजार १२४ पिस लागूऔषध ट्याबलेट र ३९ हजार ६७ पिस लागूऔषध इन्जेक्सन बरामद गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, जुवातर्फ भने १८ वटा मुद्दा दर्ता भएकोमा ९९ जनालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिएका छन । उनले विभिन्न जुवाखालहरुबाट १६ थान कौरा र १२ बुक ताससमेत बरामद गरिएको छ भने मधेस प्रदेशमा जुवाखालहरुबाट १६ लाख ६५ हजार ३४४ नगद रुपैयाँ बरामद भएको बताए ।
त्यस्तै, प्रहरीले मधेस प्रदेशमा १ हजार ५२३ जना फरार प्रतिवादीलाई पक्राउ गरी उनीहरुसँग ५ करोड ४ लाख २० हजार ८२२ रुपैयाँ जरिवाना तिर्न लगाएको छ भने नदीजन्य तर्फ ३५१ सवारी साधन र ७८ जना मानिसलाई पक्राउ गरी १ करोड ७६ लाख ७७ हजार २१४ रुपैयाँ राजश्व संकलन गरिएको छ ।
प्रदेशमा जम्मा ८ हजार ४ सय ५४ वटा मुद्दाहरु दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ भने काठचोरी निकासी आरोपमा प्रहरीले ३४ जनालाई पक्राउ गर्नुका साथै ३८ थान सवारी साधन पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रवक्ता कार्कीले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !