जनकपुरधाम, असार ३१ गते । जनकपुरधामबाट धनुषा प्रहरीले ठूलो मात्रामा अवैध मेडिकल सामाग्री सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको गोप्य सूचनाको आधारमा प्रहरीले छापामारी गरी तिनीहरुलाई पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–९ संकटमोचन मन्दिरको नजिक रहेको एक घरमा शुक्रबार दिउँसो प्रहरीले छापामारी गरी लुकाएर राखिएको ठूलो परिमाणमा अवैध मेडिकल सामाग्री बरामद सहित तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन ।
उनले भने मेडिकल सामाग्रीहरु कति रुपैया बराबरको हो भन्ने कुरा यकिन हुन सकेको छैन, नियन्त्रणमा लिइएकाहरुसँग सोधपुछ जारी रहेकोले अनुसन्धानपछि रकम यकिन हुन सक्नेछ । नियन्त्रणमा लिइएकाहरुमा भारतको मधुवनी जिल्ला जयनगर थाना बस्ने ५२ वर्षीय विपिन कुमार सिंह, दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटनाको हरनोद सिरसिया बस्ने २३ वर्षीय सुरज सिंह रहेको प्रवक्ता बस्नेतले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !