जनकपुरधाम, असार ३० गते । जनकपुरधाम बजार बन्द गराउंदै हिंडेका एक सयभन्दा बढी चुरे तथा वन जंगल संरक्षण अभियानी र सुकुम्बासीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पुर्व घोषित अनुसार चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले बिहिबार जनकपुरधाम बजार बन्द गराउन खोज्दा धनुषा प्रहरीले जनकपुरधामको विद्यापति चौक, कुआ बजार, शिव चौक र मिल्स एरिया लगायतका ठाउँबाट एक सय २१ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहदा पनि सरकारले ध्यान नदिएको, वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गाधनी प्रमाण पत्र दिनुपर्ने मांग गरेका छन ।
पक्राउ पर्नेहरुमा एक सय १० जना महिला र ११ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दिनभरि जनकपुरधाम बजार क्षेत्रभित्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । यसैबीच जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता दिपक रायले प्रक्रिया पुरयाएर पक्राउ परेकाहरुलाई छाडि दिने बताएका छन ।
गएको असार २५ गतेका दिन चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले चुरे संरक्षण सहितका तीन बुँदे माग मांग अघि सार्दै मधेश प्रदेशका राजधानी बन्द गर्नेसम्मका आन्दोलनको घोषणा गरेका थिए ।
मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियान सँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन, तराई मधेशका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमि अधिकार दिनुपर्ने र नक्कली भूमिहीन दलित सुकुम्बासीहरु, आयोग तथा स्थानीय तहद्वारा भइरहेको चुरे वनजंगल मास्ने कार्य तत्काल बन्द गर्नुपर्ने सहितका मांग चुरे अभियानीहरुले अघि सारेका हुन ।
अभियानीहरुले आफ्ना मांग पुरा गराउन असार २७ गते विभिन्न निकायमा ध्यानाकर्षण गराउने, २८ गते दिउंसै मसाल जुलुस प्रदर्शन गर्ने, २९ गते भुमिहिन तथा सुकुम्बासी महिलाहरुले झाडू जुलुस प्रदर्शन गर्ने र अन्तिम चौथो दिन ३० गते मधेश प्रदेशका राजधानी जनकपुरधाम एक दिन बन्द गर्ने आन्दोलनको घोषणा गरेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !