जनकपुरधाम, असार ८ गते । देशभर सहित धनुषा जिल्लामा पनि पहिलाे चरणमा बिहीबारदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।
बुधबार स्वास्थ्य कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएका हुन ।
पहिलो चरणमा देशभरका २७ जिल्लासहित मधेस प्रदेशका ५ जिल्लामा सञ्चालन हुने सो खोप कार्यक्रम अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको छ ।
धनुषामा १ लाख १३ हजार ८९५ बालबालिकालाई १ हजार २४० खोप केन्द्रमार्फत पहिलाे मात्राकाे असार ९ देखि १३ गतेसम्म खोप खाेपकाे पहिलाे डाेज र साउन ९ देखि १३ गतेसम्म दाेश्राे डाेज दिइने स्वास्थ्य कार्यालय धनुषाका निमित्त प्रमुख युगलकिशोर यादवले जानकारी दिए ।
प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७१६ जनसंख्या रहेपनि पहिलो चरणमा ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २३६ बालबालिकालाई खोप दिइने छ ।
निमित्त प्रमुख यादवले ५ देखि ११ वर्षसम्मका लागि बालबालिकालाई दिइने फाइजर पेडियाट्रिक नामक कोरोनाविरुद्धको खोप सुरक्षित रहेको दाबी गर्दै कोरोनाबाट बचाउन लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन आग्रह गरे ।
नेपाल सरकारले निर्दिष्ट गरे अनुसार लक्षित बालबालिकालाई उनी अध्ययनरत विद्यालयमै खोप दिइनेछ । ती बालबालिकाहरुलाई उमेर खुलेका विद्यालयको प्रमाण, कक्षागत सूचीको आधारमा खोप दिइनेछ । यदि उमेर खुलेको छैन भने अभिभावकले स्वघोषणा गरेको उमेरको आधारमा खोप लगाइने छ ।
दोस्रो चरणमा देशभरका ५० जिल्ला सहित मधेश प्रदेशका छुटेका बारा र सर्लाहीमा पनि भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने छ ।
फाइजर खोपको पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !