जनकपुरधाम, असार १ गते । प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करीब ४७ अर्बको बजेट ल्याएको छ ।
बुधवार प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९२ हजार कुल बजेटको ४६.४४ प्रतिशत र पूँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३.२१ प्रतिशत बजेट सार्वजनिक गरेको हो ।
वित्तिय व्यवस्थातर्फ १६ करोड अर्थात ०.३५ प्रतिशत विनियोजन गरिएको छ भने आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रहेको छ ।
बजेट व्यवस्थापनका लागि नेपाल सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान ७ अर्ब ८१ करोड ५८ लाख, विशेष अनुदान ४९ करोड, सम्पुरक अनुदान ७८ करोड र शसर्त अनुदान १० अर्ब ६ करोड ९१ लाख प्राप्त भएको मन्त्री साहले जानकारी दिए ।

त्यस्तै प्रदेशको संचित रकम ३८ करोड, राजश्व बाँडफाँडबाट ११ अर्ब ६१ करोड ९८ लाख र गत वर्षको बचत तथा नगद मौज्दात ९ अर्ब ६६ करोड रहेको मन्त्री यादवले बैठकमा जानकारी दिए । श्रोतबाट कुल ४५ अर्ब ४ करोड व्यवस्थापन अनुमानित गरिएकोमा एक अर्ब ८८ करोड १० लाख १८ हजार रुपैया कमी भएकोमा सो रकमका लागि आन्तरिक ऋण परिचालन गर्ने उनले सभामुखलाई जानकारी गराए ।
बजेटमा बेटी बचाउ बेटी पढाउ कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिएको छ, जस अन्तर्गत कक्षा १२ को छात्रालाई प्राविधिक शिक्षामा जोड दिन प्रत्येक छात्रालाई ल्यापपट व्यवस्थापन गर्न ७७ करोड ४० लाख रुपैया छुटयाएको छ भने छोरी बिमा, छात्रवृति र कक्षा ८ का छात्रालाई साइकल वितरण समेतलाई निरन्तरता दिइएको छ ।
गरीब तथा विपन्न परिवारको जिविकोपार्जनका लागि एक अर्ब ५० करोड रुपैया छुटयाएको छ । सो कार्यक्रम अन्तर्गत प्रदेश सरकारले जारी गरेको परिचय पत्रको आधारमा गरीब तथा विपन्न परिवारको खातामा सोझै रकम पठाइनेछ । दलितहरुको शिक्षा उत्थान र विद्यालय छोडने कार्यमा न्यूनता ल्याउन प्रति दलित परिवार २ हजारको दरले वितरण गरिनेछ जसका लागि २ करोड रुपैया छुटयाइएको छ ।
प्रत्येक स्थानीय तहमा ५ किलोमीटर कालेपत्रे सडक निर्माणका लागि एक अर्ब २६ करोड, जनकपुरधाम तथा विरगञ्ज शहरको विकासका लागि प्राद्यिकरण गठन गर्न ३० करोड, कृषि विश्वविद्यालयका लागि संचालन एवं व्यवस्थापनका लागि १० करोड रुपैया विनियोजन गरिएको छ ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट विनियोजन गरेको थियो । चालु तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार कुल बजेटको ४६.२६ प्रतिशत र पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत बजेट ल्याएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !