जनकपुरधाम, जेठ २७ गते । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागी तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुको लागी अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तह विच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

उनले भने मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणको कार्यहरु स्थानीय तह मातहत कै गाँउ ठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्ने विकास निर्माण त्यही ठाँउमा गर्नु पर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्य विना समृद्धि र विकास सम्भव छैन ।
मुख्यमन्त्री राउतले स्थानीय सरकारहरुले ल्याउने विकास निर्माणको योजनाहरुमा काँधमा काँध मिलाएर अघि बढन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गरे ।
सरकार संचालन तथा विकास निर्माण संग सम्बन्धित विषयमा आयोजित अभिमुखी करण कार्यक्रममा उहाँले स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई कानून प्रक्रियाहरु बारे अवगत हुन आग्रह समेत गरे ।
मधेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा धनुषा र पर्सा बाहेक ६ जिल्ला स्थित स्थानीय तहका प्रमुख , उपप्रमुख , अध्यक्ष र उपाध्यक्ष हरुको सहभागिता रहेको छ । प्रशिक्षण तीन दिन सम्म चल्ने छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !