जनकपुरधाम, जेठ २१ गते । संघीय सरकारकाअर्थमन्त्री जनार्दन शर्माले सर्वाेच्चले राेक लगाएकाे बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६ औँ साधारण सभालाई आज शनिवार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले यस्ताे प्रतिबद्धता जनाएको हो ।

‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’, उहाँले भन्नुभयो, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’
उहाँले त्रिभुवन विमानस्थलको वैकल्पिक रूपमा मात्र नभएर मधेस र देशकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताउनुभयो । उहाँले निजगढ विमानस्थल र काठमाण्डाै–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि उहाँले जानकारी दिनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले बिहान वीरगञ्ज चिनी उद्योगको निरीक्षण गरेकाे थियो ।
मन्त्री शर्माले पथलैया–वीरगञ्ज करिडोर, निजगढ विमानस्थल र द्रुत मार्ग, चिनी कारखाना खोल्ने विषय, सुक्खा बन्दरगाह, एकीकृत भन्सार जाँच चौकी निर्माणलगायतका माध्यमबाट वीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको बताए ।
कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताउंदै उनले कठिन आर्थिक अवस्थामा बजेट आएको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !