काठमाडौँ– विनिमय दरमा आएको परिवर्तनका कारणले मात्र बाह्य ऋणको दायित्व स्वतः बढ्ने गरेको छ । विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण नेपालले एक आर्थिक वर्षमा ७५ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक विनिमय घाटा व्यहोर्नुपरेको छ ।
विदेशी मुद्रामा लिएको ऋण उक्त मुद्रा बलियो भएसँगै नेपालले ठूलो परिमाणमा विनिमय दरको घाटा व्यहोर्नुपरेको संसदमा प्रस्तुत आर्थिक सर्वेक्षण २०७८–७९ मा उल्लेख छ ।
२०७६ असार मसान्तको तुलनामा २०७७ असार मसान्तमा विदेशी मुद्रामा लिएको ऋणको औसत विनिमय दर नै ९.६९ प्रतिशतले वृद्धि भएको र यसरी विनिमय दर माथि जाँदा नेपाललाई ७५ अर्ब २८ करोड रुपैयाँ अतिरिक्त व्ययभार थपिएको हो ।
आर्थिक वर्ष २०७७–७८ मा भने यस्तो घाटा ७ अर्ब ४३ करोड रुपैयाँमात्र रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७८–७९ को फागुनसम्ममा भने विदेशी विनिमय दरमा आएको परिवर्तनबा १ अर्ब १८ करोड रुपैयाँ नाफा भएको बताइएको छ ।
२०७८ फागुनसम्म नेपालको बाह्य ऋणभार ९ खर्ब ८४ अर्ब ९९ करोड र आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड रुपयाँ रहेको छ । २०७८ असार मसान्तसम्म १७ खर्ब ३७ अर्ब रुपैयाँ सार्वजनिक ऋण दायित्व रहेकोमा अहिले १८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।
पूर्ववर्ती सरकारको तुलनामा सार्वजनिक ऋण दायित्व बढाउने सवालमा वर्तमान सरकार संयमित देखिएको छ । यससँगै आर्थिक सर्वेक्षणले पूर्ववर्ती सरकारले ह्वात्तै ऋण बढाएको भन्ने व्याख्या (भाष्य)लाई समेत प्रतिवाद गर्दै त्यसरी ऋण बढ्नुको कारण विनिमयदरको उतारचढाव मुख्य कारण रहेको बताएको छ । @ इकागज

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !