जनकपुरधाम, बैशाख २० गते । जनताको आधारभूत आवश्यकता पुरा गर्ने सहितका जनकल्याण प्रतिबद्धता मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले सार्वजनिक गरेको छ ।
आँप चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महतोले मंगलवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले जनकपुरधाम उपमहानगरपालिकाको समग्र विकासका लागि विभिन्न क्षेत्रलाई समेटेर विशेषज्ञ र विज्ञहरुको टोली बनाएर कार्य अघि बढाउने आफ्नो प्रतिबद्धतामा भनेका छन ।
उनले जनकल्याण प्रतिबद्धता पत्रमा समाज कल्याण, शिक्षा, स्वास्थ्य, पर्यटन विकास, कृषि तथा कृषक उत्थान, गरिबी तथा रोजगारी, सार्वजनिक सम्पति संरक्षण एवं, विपद व्यवस्थापन, अपाङ् तथा बालमैत्री, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, सूचना तथा सञ्चार र सुशासन, संयन्त्र एवं प्रशासनिक सुधार जस्ता क्षेत्रहरुलाई समावेश गरेका छन् ।
उम्मेदवार महतोले जनकपुरधामको मुख्य समस्याका रूपमा रहेको फोहोर व्यवस्थापन र मच्छर नियन्त्रणलाई पहिलो प्राथमिकताका राखेर काम गर्ने पनि बताए । उनले निस्वार्थ काम गर्ने ठाउँमा सहजै विकास गर्न सकिने पनि बताए । सो जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले जनकपुरधामको समग्र विकासको लागि आफूले उम्मेदवारी दिएको बताए ।
सो प्रतिबद्धता पत्रमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निशुल्क दुर्घटना बिमा, जन्म, मृत्यु, विवाह दर्तालगायतको दस्तुरमा विशेष छुट, सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयमा स्तरोन्तति गर्न नगर शिक्षा नीति ल्याउने, बालश्रमिकलाई विद्यालय पढाउन बालश्रमिकको परिवारलाई आय आर्जनका लागि २५ हजार अनुदानका लागि विभिन्न संघसंस्थसँग समन्वय गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन ।
यसका साथै अति विपन्न परिवारका बालबालिकालाई उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्थ गर्ने, जनकपुरधामका ७ स्थानमा इन्टरनेट सुविधासहितको अत्याधुनिक डाटा सेन्टरपार्क स्थापना गर्ने, प्रत्येक वडामा खुल्ला पार्क उद्यानको स्थापना लगायत समावेश गरेका छन् ।
उम्मेदवार महतोले पत्रकार सम्मेलनमा आफू निर्वाचित भएपछि सरकारी गाडीको प्रयोग नगरी आफ्नो निजी गाडी नै प्रयोग गर्ने र कार्यकाल अवधिभर लिएको तलब भत्ता गरीब र विपन्न वर्गलाई नगरप्रमुख कोष मार्फत सहयोगमा खर्च गर्ने प्रतिबद्धता जनाए ।
उनीसंगै पत्रकार सम्मेलनमा स्वतन्त्ररुपमा उपमेयर पदका उम्मेदवार निर्मल चौधरीले पनि संयोगले आफुले पनि आँप छाप चिन्ह पाएपछि आफुहरु गठबन्धन भएको दावी गरे ।
उपमेयरका उम्मेदवार निर्मल चौधरीले आफु दक्ष व्यवस्थापक अनुभवी रहेको बताउँदै उनले आफुसंग रहेको सीप र बलराम महतोसंग रहेको कार्य कौशलतालाई सफलतापूर्वक कार्यान्वयन गर्ने विश्वस्त पारेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !