जनकपुरधाम, बैशाख १९ गते । धनुषाकाे जनकपुरधाम उपमहानगरपालिकाका एक स्वतन्त्र उम्मेदवार निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा राखेकाे नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह राखेकाे भन्दै धर्नामा बसेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा षडयन्त्र तहत नराखेकाे भन्दै धर्नामा बसेकाे हाे ।
साेमवार बिहान १० बजेदेखि जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका छन । आफूले २४ घण्टा भित्र नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह समावेश गर्न दिएको समयमा पनि समावेश नगरिएकाले धर्नामा बस्नु परेको संचारकर्मीसंग कुरा गर्दै मनोजले बताए ।

उनले राजनीतिक षडयन्त्रपूर्वक आफुलाई हराउन आफ्नो चुनाव चिन्ह समावेश नगरिएको आरोप लगाए । उनले भने ‘यो सामान्य त्रुटि होइन मेरो उम्मेदवारीलाई ओझेलमा पार्ने षड्यन्त्र गरिएकाे हाे ।
चुनावी प्रचार प्रसार जारी रहेको समयमा नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नहुँदा मतदातालाई सम्झाउन समस्या भईरहेको भन्दै साहले आयोगको यो त्रुटिपूर्ण नमूना मतपत्र अविलम्ब नसच्याएसम्म आफू धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि जम्मा २७ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन । घण्टाघर बाहेक लालटेन लगायतका केही छाप समेत नमुना मतपत्रमा छुटेकाे छ ।
यता जनकपुरधामको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले यो समस्या समाधानका लागि आफूले आयोगको सचिव, आयुक्त तथा सम्बन्तिध अधिकारीहरुलाई जानकारी गराई सकेकोले मतपत्र सच्याउने काम चाँडै हुने उनले बताए ।
प्याकुरेलले भने ‘यो त्रुटी मनोजजीको हकमा मात्रै छैनन्, जनकपुरधाममा २७ जना प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारहरु छन् १२ जना बाहेक सबैमा यो समस्या छ ।’ उनका अनुसार आयोगले १२ वटा चुनाव चिन्ह मात्रै पठाएको थियो तर जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको संख्या बढेपछि यस्तो समस्याको श्रृजना भएको हो ।
उनले भने १२ वटा चुनाव चिन्ह सम्म ठिकै थियो । ‘पुतली देखी जेब्रासम्म जम्मा १२ वटा चिन्ह थियो, अहिले जनकपुरधामलाई प्राथमिकतामा राखेर सच्याउने काम भईरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !