जनकपुरधाम, बैशाख १६ गते । आसन्न तह निर्वाचनका लागि धनुषाका १८ वटा स्थानीय तहमा उम्मेदवारी दिएका मध्ये ४ जना मेयरका उम्मेदवार सहित १ सयभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका छन् ।
धनुषामा १८ वटा स्थानीय तह रहेकोमा मेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु गरी १ सय ९ जनाले आफ्नाे उम्मेदवारी फिर्ता लिएको धनुषाका निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ ।
धनुषको जनकपुरधाम उपमहानगरका दुई जना मेयर सहित उपमेयर, वडाध्यक्ष र सदस्य सहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जनकपुरधामको मेयरमा उम्मेदवारी फिर्ता लिनेमा बैधनाथ साह, नन्द कुमार भगत, उपमेयरका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदमा उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

त्यस्तै मिथिला नगरपालिकाका मेयर पदका एमालेका बागी उम्मेदवार हरिनारायण महतो र जनता समाजवादी पार्टीका चन्देश्वर महतो सहित ११ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिएका छन । यस्तै वडाध्यक्ष पदका ५ र वडा सदस्य पदका ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत धितालले बताएका छन ।
यस्तै धनुषाधाममा एक उपप्रमुखको उम्मेदवार सहित ७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जिवी गौतमले जानकारी दिए । त्यहाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी मेनका कुमारी सिंहले उम्मेदवारी फिर्ता लिएकी छन् । वडाध्यक्षका २ र सदस्यका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
बटेश्वर गाउँपालिकामा एक गाउँपालिका अध्यक्षका उम्मेदवार सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अध्यक्ष पदका उम्मेदवार खलेन्द्र बहादुर कटुवालले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै वडाध्यक्षका १ र दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । धनौजी गाउँपालिकामा समेत एक गाउँपालिका अध्यक्षका उम्मेदवार सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएको छ । निर्वाचन अधिकृत पोषराज खनालले दिएको जानकारी अनुसार अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल र दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
विदेह नगरपालिकामा ५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत अनुज भण्डारीले जानकारी दिए । विदेहमा वडाध्यक्ष पदका २ र महिला सदस्य पदका ३ जनाले उम्मेदवारी फिर्ता लिएकी छन् ।
हंसपुर नगरपालिकामा एकजना सदस्य र एक दलित सदस्य सहित दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैला नगरपालिकामा ६ जना वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवार सहित ७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी दिए ।
त्यस्तै क्षीरेश्वरनाथ नगरपालिकामा वडाध्यक्ष पदका ३, सदस्य ४, दलित महिला सदस्य २ र महिला सदस्य १ गरि १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सहिदनगर नगरपालिकामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यहाँ वडाध्यक्ष पदका १, सदस्य २, दलित सदस्य २ र महिला सदस्य २ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलले जानकारी दिए ।
नगराईन नगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिएका छन । उनका अनुसार वडाध्यक्ष पदका ४, सदस्य ७ र महिला सदस्य पदका ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मिथिला विहारी र कमला नगरपालिकामा वडाध्यक्ष पदका एक÷एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने गणेशमान चारनाथ नगरपालिकामा भने ३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उता मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा ३ जना, औरही गाउँपालिकामा ३ वडाध्यक्ष सहित ७ जना, लक्ष्मिनियाँ गाउँपालिकामा ८ जना र जनकनन्दिनी गाउँपालिकामा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !