जनकपुरधाम, चैत ३०। छुरा प्रहारबाट धनुषाको धनौजी गाउँपालिकामा एक युवककाे मृत्यु घटनाले पुरै गाउँ नै शाेकमग्न भएकाे छ ।
धनाैजी ५ बहुअर्वा गाउंवासी सामान्य विवादले छुरा प्रहारबाट ज्यान गुमाएका सराेज मण्डलकाे घटनाले शाेकमा डुबेका छन । घटनाबाट मण्डलकाे मृत्यु घटनाले मर्माहित भन्दा बढी गाउंवासी जिल्ला अदालत विरूद्ध आक्राेशित देखिएका छन ।
उनीहरू ज्यान मार्ने उद्याेग जस्ता घटनालाई कुटपिट मुद्दा भनी आराेपितहरूलाई घाइते उपचारकै क्रममा उन्मुक्ति दिएकाे कुराले अदालत विरूद्ध आक्राेशित भएका हुन ।
मृतक सराेजका आफन्त, गाउंवासी तथा जनप्रतिनिधिहरूले घटनाकाे सबुत प्रमाण र पिडितकाे बकपत्र हुंदाहुंदै माेटाे रकमकाे चलखेलमा जिल्ला अदालत धनुषाका न्यायधिशले आराेपितलाई रिहा गरेकाे आराेप लगाएका छन ।
मृतकका बुवा पिडीत रामानन्द मण्डलले ज्यान मार्ने गरि गरिएकाे छुरा प्रहार जस्ता घटनामा आफ्नाे छाेरा सराेजकाे उपचार भइरहेकै क्रममा सामान्य उपचार खर्च तिराउने गरी आराेपीलाई उन्मुक्ति दिइएकाे आराेप लगाए ।

उनले भने आफ्नो छाेराकाे उपचारमा ५/६ महिनाकाे अवधि २५/३० लाख रूपैया पनि खर्च भयाे, तर अदालतले निर्देशन दिएका उपचार खर्च प्रतिवादीबाट अहिलेसम्म पाएका छैनौं, छाेरा पनि रहेन, आराेपी विदेश पलायन भइसक्याे । पिडीतले उपचार भइरहेकाे क्रममा तत्काल फैसला नगर्न आग्रह गर्दापनि उपचारकाे सम्पुर्ण बिल भरपाई पेश गर्न नपाउंदै बीचमै फैसला आएपछि आफूले न्याय पाउन सकेनौं, अब हामी न्यायका लागि उच्च अदालत जानेछाै मण्डलले भने ।
त्यस्तै वडा नम्बर–५ का वडाध्यक्ष कमलनारायण पंकजले भने,‘सरोजको उपचारको क्रममा पेटमा गम्भिर घाउ भएको थियो । उनको ‘ल्याप्राटोमी’ प्रविधि’ बाट शल्यक्रियाको क्रम जारी थियो । त्यस्तो अवस्थामा न्यायाधीश भट्टराईले कुन विवेकको प्रयोग गरी हत्या अभियोगमा कारागारमा रहेका व्यक्तिलाई कुटपीट मुद्दामे परिणत गरि रिहा गरियो ?’
करिव ७ महिना अघि बहुअर्वा गाउँमा गणेश पूजाको भव्य मेला आयोजना गरिएको थियो । मेला हेर्न पुगेको भीडमा स्थानीय रामनन्दन मण्डल केवटका छोरा सरोजकुमार मण्डल पनि थिए ।
मेलामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सबैले सोही कार्यक्रम हेरिरहेका थिए । अचानक दुई समूहबिच विवाद भयो ।सरोजले केही नसोचि हतपत झगडा छोडाउन पुगे । तर, सोही क्रममा नसोचेको घटना घट्यो । अचानक सरोजको पेटमा छुरा प्रहार गरियो ।
२०७८ साल भदौ २६ गते राति करिव २ बजे यस्तो अपराधिक घटना घट्यो । मेलामा नाच हेरिरहेका बेला सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डलबिच आपसी विवाद भयो । सोही विवादमा प्रतिवादी मनिष र राजिवले अमितको टाउकोमाथि हतियार प्रहार गर्यो ।
अमितको बचाउका लागि बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगे । त्यहाँ पुग्नेवित्तिकै उनीहरुमाथि पनि छुरा प्रहार गरियो । बजरंगको तिघ्रामा र सरोजको पेटमा छुरा प्रहार गरि आन्तरिक अंगभंग गरियो । सरोजको सोही बेलादेखि काठमाडांैस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।
धनौजी गाउँपालिका वडा नम्बर–५ बहुर्अवा निवासी रामआशिष मण्डलका १८ वर्षीय छोरा मनिषकुमार मण्डल र वडा नम्बर–४ निवासी विमल मण्डलका २३ वर्षीय छोरा राजीवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपीटमा परिणत गरि प्रतिबादीलाई मुक्त गर्ने फैसला सुनाइयो ।
फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भिर घाइते सरोज मण्डलको उपचार खर्चवापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भरपाई अनुसार उपचार खर्च उपलब्ध गराउने उल्लेख छ ।
गत पुस १९ गते जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराभ भट्टराइको आदेश भएको; ईजलाश अधिकृत समिता श्रेष्ठमार्फत प्रमाणिक फैसलापत्रमा भनिएको छ ।
अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गईसके । यता, घाइते सरोजको सोमबार राति उपचारकै क्रममा असामयिक निधन भयो । सरोजको परिवारजन सहित समग्र गाउँ नै अहिले शोकमग्न अवस्थामा छन् । सबैले अहिले न्यायालयबाट नै अन्याय गरिएको अनुभूति गरिरहेका छन् ।
सरोजको परिवारमा उनका आमा, बाबु, पत्नी चान्दनी मण्डल, ९ वर्षीय छोरा भूमि मण्डल र ५ वर्षीया छोरी भूमिका मण्डल छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !