जनकपुरधाम । धनुषाको विदेहनगरपालिका वडा नं. ८ बफैमा बुधवार निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल प्रहरीका पूर्व एसएसपी गोविन्द कुमार साहको पहलमा आयोजना गरिएको सो शिविरमा ७ सय ५० जना मानिसले निःशूल्क स्वास्थ्य उपचार तथा परामर्श लिएको डा. अजय कुमार साहले बताए ।
एस.पी. अर्थोपेडिक हस्पिटल एण्ड क्रिटिकल केयरद्वारा आयोजित उक्त शिविरमा सेवा लिन पुगेका सेवाग्रहीहरुलाई निःशूल्क औषधीसमेत वितरण गरिएको थियो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरु डा.संजय कुमार साह (अर्थोपेडिक), डा. संजित साह (अर्थोपेडिक), डा.श्रीनारायण यादव (पेडियेट्रिक), डा.रामस्नेही यादव (डेन्टल), डा. चन्दन साह (इएनटी),डा. संजय साह (पेडियेट्रिक), डा. प्रेमकुमार साह (क्रिटिकल केयर), डा. विजय कापर (गाइनोकोलोजी) का साथै डा. सुदिप साह, सिकन्दर मण्डल र विष्णुदेव रजकले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
हालै नेपाल प्रहरीको एसएसपी पदबाट राजीनामा दिएका गोविन्द कुमार साह गाउँ फर्के लगत्तै समाजिक कार्यमा अग्रसर भएका छन् ।
काँग्रेसबाट विदेह नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिने तयारीमा रहेका साहले शुभचिन्तक तथा गाउँलेहरुले नगरको विकासका लागि चुनाव लड्न आउन भनेपछि पदबाट राजिनामा दिएको बताएका थिए । काँग्रेसको जग बलियो बनाउने भूमिका र इतिहास साहको परिवारसंग जोडिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !